इटहरी , असोज २४ । प्रहरीको हिरासतमा एक युवकको मृत्यु भएपछि सुनसरीको इनरुवा तनावग्रस्त भएको छ ।

हिरासतमा प्रहरी यातनाका कारण मृत्यु भएको भन्दै घरेलु हतियारसहित मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि इनरुवा तनावग्रस्त भएको हो ।
सुनसरी भोक्राहका मोहम्मद हाकीम साहको प्रहरी हिरासतमा मृत्यु भएपछि आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय सुनसरीमा तोडफोड गरेका छन् । घरेलु हतियारसहित आएका स्थानीले आक्रमण गर्दा १२ जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।
भीड नियन्त्रण गर्न प्रहरीले १२ भन्दा बढी अश्रुग्याँस प्रहार गरेको छ । १३ दिनअघि पक्राउ परेका मोहम्मद हाकिम साहलाई आज अदालत बुझाउने तयारी थियो ।
अदालत बुझाउनु अघि नै बिहान हिरासतमा रहेका कैदीहरू सुतेको बेला मोहम्मद हाकीमले आत्महत्या गरेको सुनसरीका प्रहरी प्रमुख सञ्जय सिंह थापाले बताए ।
कार्यालयको सिसी टिभी फुटेज हेर्दा गम्छाको पासो लगाएर हिरासतको ढोकामा झुण्डिएको देखिएको थापाको दावी छ ।
मृतकका आफन्तले भने प्रहरीले हत्या गरेको दावी गर्दै नाराबाजी गरिरहेका छन् ।
प्रेम विवाह गरेका हाकीमलाई धनकुटाबाट पक्राउ गरेर प्रहरीले अभद्र मुद्दा चलाएको थियो ।
सुनसरी इनरुवा–९ की युवतीसँग उनले प्रेम विवाह गरेका थिए । अन्तरजातीय र अन्तर धार्मिक विवाह गरेका कारण हाकीम र उनकी प्रेमिकालाई परिवारले पटक पटक छुटाउँदै आएको थियो । पटक पटक छुटाउँदै आएपनि १३ दिन अघि प्रहरीले उनलाई पक्राउ गरेर अभद्र मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्