बिर्तामोड, असोज २४ ।सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता शीर्षकमा एक करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको छ ।

चारपानेमा बडादशैँको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी संस्थाका ९३५ जना सदस्यलाई १ करोड ७ लाख ४९ हजार रुपैयाँ वितरण गरेको हो । सो रकम विभिन्न सेवा केन्द्रमार्फत प्रदान गरिने संस्थाले जनाएको छ ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विभिन्न ६ वटा शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए । गिरीका अनुसार एकल महिला भत्ताबापत आठ हजार रुपैयाँका दर ५९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई ६ हजारका दरले ७२ हजार रुपैयाँ वितरण गरिएको छ ।

त्यस्तै, २४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ प्रदान गरिएको छ । ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई ८ हजार, ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दर भत्ता प्रदान गरिएको गिरीले बताए । ज्येष्ठ सदस्यहरुको दीर्घायुको कामना गर्दै ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ ।
हौसला कार्यक्रमअन्तर्गत पूर्णरुपमा अशक्त र अपांगता भएका ९ जना सदस्यलाई १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, दिवंगत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुई–दुई वर्षमा आश्रित परिवारलाई २५ हजारका दरले पाँचपटकसम्म रकम उपलब्ध गराइने संस्थाले जनाएको छ । सोअन्तर्गत ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ ।

त्यस्तै, परिवार राहत कार्यक्रमअन्तर्गत १७ जनालाई २६ लाख रुपैयाँ प्रदान गरिएको गिरीले जानकारी दिए ।
कार्यक्रममा संस्थाका पूर्वकर्मचारी स्वर्गीय यादव बस्नेतको स्मृतिमा स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोष घोषणा गरिएको छ । अक्षयकोषको राशि १० लाख रुपैयाँ रहेको छ । त्यस्तै, एकल महिला रेणुका नेपाललाई विशेष सम्मान गरिएको थियो ।
संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ १ नम्बर प्रदेश अध्यक्ष घनश्याम अधिकारी, संरक्षक नरनाथ गिरीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
दिनेशबहादुर निरौलाले सञ्चालन गरेको कार्यक्रममा सामाजिक सुरक्षा उपसमिति संयोजक डिल्लीराम सिटौलाले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्