बिर्तामोड,असोज २४ । बिएन्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले झापा जिल्लामा रहेका सबै दृष्टिबिहीनको निशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका छन् ।

नेत्रहीन संघद्वारा आइतबार बिर्तामोडमा आयोजित दशैको शुभकामना तथा ५७ औ बिश्व सेतो छडी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रसाईले जिल्लाभरि रहेका सबै दृष्टिबिहीनहरूको लागि कÞरीब एक लाख बराबरको स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रसाईले नेत्रहीन संघको विकास र उन्नतिको लागि आफू सधै तयार रहेको बताउँदै आगामी दिनमा संगै मिलेर अघि बढने प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा निर्देशक प्रसाईले बिएन्डसीको तर्फबाट दशै खर्चबापत संघकी अध्यक्ष यशोदा खनाललाई ६९ हजार नगद प्रदान गरेका थिए ।
संघकी अध्यक्ष खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष खेम रेग्मी,संस्थाका सल्लाहकार संयोजक द्रोणचार्य निरौला,होमनाथ राजवंशी,भोजकुमार तामाङलगायतले बोलेका थिए ।२०७३ सालमा झापामा स्थापना भएको संघमा हालसम्म १ सय २० जना सदस्य रहेका छन् ।