झापा, असोज २४ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अधिग्रहण गरी बस्नेहरु र सुरक्षाकर्मीबीच भएको झडपमा परी चारजनाको मृत्यु भएको छ ।

घटनामा ३० बढी घाईते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर क्षेत्रमा कफ्र्यु लगाएको छ । झडपमा परी मृत्यु भएका कपिलबस्तु जिल्ला बाणगंगा १० निवासी ४८ वर्षिय रमेश परियारको मात्र सनाखत भएको छ। उनको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको साथमा श्रीमती रहेकाले उनको परिचय खुलेको अस्पतालले जनाएको छ ।

अन्य तीन जनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकाले शवगृहमा राखिएको मेडिकल कलेज रानी गाउँ भैरहवाका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । अस्पतालमा घाइते गुल्मी ४ रैतौलीका वर्ष ३३ का जंगबहादुर परियार, हुमिन ४ पाल्पाका वर्ष ३५ का गंभीरसिंह डिसा, तानसेन १० पाल्पाका वर्ष ३८ का प्रेम बिक, नवलपरासी प्रतापपुर ठूलो खरेताका वर्ष २२ का सरबेश केवटको उपचार भैरहेको छ । युनिभर्सल कलेज अफ मेडिकल साइनसेज भैरहवामा उपचारका लागि गएका ८ जना अतिक्रमणकारी र ५ प्रहरीमध्ये ४ जना अतिक्रमणकारीको मृत्यु भएको छ,’ अस्पतालका जनसम्पर्क अधिकृत गुरूङले जानकारी दिए । उनका अनुसार ३ जनाको अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो । १ को उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक मनोज केसीले साँझसम्म पनि समूहमा आउने र पछि तितर बितर हुने अवस्था रहेको बताए। झडपमा परी घाईते हुनेहरुको बुटवलको प्रादेशिक अस्पताल, भैरहवाको मेडिकल कलेजलगायतका अस्पतालहरुमा उपचार जारी रहेको ईलाका प्रहरी कार्यालय बेलहीयाका प्रहरी निरीक्षक नबिन पौडेलले बताए।

मोतिपुर औद्योगिक क्षेत्रमा अस्थायी टहरा बनाएर बसेकालाई प्रहरीले हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्