बिर्तामोड, असोज २६ । मेची महाकाली संयुक्त बुहारी आवाज केन्द्रीय समिति र झापा जिल्ला समितिले कालिकापीठ कालीस्थानमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ ।

अर्जुनधारा नगरपालिका–९ मा कालिकापीठ कालीस्थानद्वारा सञ्चालित कालिका संस्कृत विद्यापीठमा अध्ययनरत ३२ जना बटुकहरुलाई भेष्ट र धोती वितरण गरिएको हो ।
मेची महाकाली संयुक्त बुहारी आवाजका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्ले र झापा जिल्ला समितिका अध्यक्ष शिखा खड्का गणेशले पीठका अध्यक्ष ज्योतिषी पण्डित लक्ष्मीप्रसाद पोखरेललाई एक कार्यक्रमका बीच कपडा हस्तान्तरण गरेका थिए ।
बुहारी आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थाका केन्द्रीय उपाध्यक्ष चन्द्रा काफ्लेले संस्थाले गरेका गतिविधि र भावी लक्ष्यबारे प्रष्ट्याएकी थिइन् । कार्यक्रममा पीठका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेल , प्राचार्य आ. रघुनाथ रिजालले सत्पात्रमा गरिएको दानले दाताको समुन्नति हुने चर्चा गर्दै बुहारी आवाजको सहयोगप्रति आभार तथा कृतज्ञता ब्यक्त गरे ।
प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीले कालिकापीठको ऐतिहासिकता एवं हालसम्म भए÷गरेका गतिविधिबारे जानकारी गराउँदै हिंसापीडित महिलाहरुको अधिकार रक्षा र सामाजिक क्षेत्रमा बुहारी आवाजले गरेका कार्यहरु प्रशंसनीय भएको बताइन् ।
यसैगरी मेची महाकाली संयुक्त बुहारी आवाजका अध्यक्ष शिखा खड्का गणेश र बिर्तामोड–२ निवासी कामेश्वर गणेशलाई कालिकापीठको आजीवन सदस्यता प्रदान गरिएको थियो ।