बिर्तामोड , असोज २६ । बढ्दो जनआवादी भएको बिर्तामोडमा पहिलो अपार्टमेन्ट निर्माण हुने भएको छ ।

अपार इन्भेष्टमेन्ट प्रालिले सो अपार्टमेन्ट निर्माण गर्न लागेको हो । एक वर्ष अगाडि स्थापना भएको अपार इन्भेष्टमेन्ट प्रालिले बिर्तामोडको मुटुमा करीव ७ कठ्ठा जग्गामा १० तलाको अपार्टमेन्ट निर्माण गर्न लागेको जनाएको छ । पार्किङ , सुरक्षाजस्ता सुविधासहित करीब ८० करोडको लागतमा बन्ने अपार्टमेन्टमा ७१ वटा फ्लाट हुने छ । नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि र अपार इन्भेष्टमेन्ट प्रालिको संयुक्त कार्यालय उद्घाटनका अवसरमा त्यसबारे जानकारी दिइएको हो । काठमाण्डौं ,विराटनगर ,सिलिगुडी, पोखरालगायतका शहरमा अपार्टमेन्ट खुलिसकेको अबस्थामा त्यसको संभावनालाई लिएर बिर्तामोडमा पहिलो पटक अपार्ट स्टार टावर निर्माण गर्न लागेको कम्पनीका अध्यक्ष मनोज उप्रेतीले बताए । उनले आफूहरुको कम्पनीले नयाँ नयाँ प्रोजेक्ट धेरै ल्याउन लागेको बताउँदै निरन्तर काम चलिरहेको जानकारी दिए । मेगा बिल्ड प्रालिका श्रवणकुमार पाण्डेले निर्माण हुन लागेको अपार्टमेन्टको डिजाइनको बारेमा जानकारी दिए । उनले अबको डेढ–दुई महिनापछि काम शुरु गरिने जानकारी दिए ।

फूलपातीको अवसर पारेर बिर्तामोडका अग्रज व्यवसायी द्वारिकाप्रसाद मित्तलले ती दुई कम्पनीको कार्यालयको उद्घाटन गरे । नेपाल एभरेष्ट कार्डमम प्रोडक्सन एन्ड प्रोसेसिङ प्रालि एवं स्टार धनलक्ष्मी हाउजिङ प्रालिका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा अपार इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष मनोज उप्रेती , नेपाल अलैची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले मन्तव्य राखेका थिए । कार्यक्रममा अपार इन्भेष्टमेन्ट प्रालिका संचालक गोपालप्रसाद बजगाई , अपार्टमेन्टलाई जग्गा उपलब्ध गराउने अनुराग सिन्हा ,व्यवसायी रोशन मित्तल , उर्मिला बिमली खरेल , नन्दमणि बिमली, नरमाया बिमलीलगायतको उपस्थिति रहेको थियो । पार्वता खरेल बिमलीले स्वागत गरेको कार्यक्रमको संचालन याम बिमलीले गरेका थिए ।