बिर्तामोड, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बार्टर सिस्टमकै लागि परमादेशबाट अहिलेको सरकार बनेको टिप्पणी गरेका छन् ।

उनले धरतीमा पहिलो पटक देशले परमादेशबाट सरकार पाएको दावी गर्दै यसअघि कतैं पनि परमादेशबाट सरकार नबनेको बताए । झापाको बिर्तामोडमा बडादशैं, शुभदीपावली र छठ पर्वको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार नै सट्टापट्टामा बनेकाले तीन महिनामा बल्ल पूर्णता पाएको बताए ।
‘बार्टर अर्थात सट्टापट्टा पहिला व्यापार व्यवसायमा हुन्थ्यो’ उनले भने – ‘यो सरकार बन्दा पैसाको कारोवार भयो या भएन तर सट्टापट्टा गर्दै धर्तीमै पहिलो पटक परमादेशबाट बनेको हो । यो व्यवस्था संविधानमा पनि छैन ।’ उनले परमादेशबाट बहुमत प्राप्त सरकार हटाएको स्मरण गर्दै सट्टापट्टाको खेलले मुलुक धरापमा पर्ने खतरा बढेको आशंका गरे । परमादेशबाट बनेको सरकारले ३ महिनासम्म पूर्णता समेत पाउन नसकेको, बनाउँदा पनि ‘जेठान’सँग सट्टापट्टा गरेको आरोप लगाए । अदालतले परमादेशको बदलामा सट्टापट्टा गरेको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले झापामा २०५० सालयता हरेक वर्ष विजया दशमीको अवसरमा नवमीका दिन शुभकामना आदानप्रदान कार्यक्रममा सहभागिता जनाउँदै आएका छन् । नेकपा झापाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्वर १ का मुख्यमन्त्री भीम आचार्यसहित पार्टीका केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्