भद्रपुर, असोज २८ ।नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले साहित्यमा प्रयोग हुने शब्दशक्तिले व्यवस्था उथलपुथल पार्न सक्ने तागत रहने बताएका छन् ।

भद्रपुर १० चन्द्रगढीस्थित वीपी चौकमा कवि खगेश्वर कोइरालाद्वारा लिखित यात्रा कविता संग्रहको विमोचन गर्दै शर्माले मकैको खेती शब्दकै कारण जहानियाँ राणा शासन अन्त्य भएको स्मरण गर्दै व्यवस्था उथलपुथल पार्न शब्दशक्ति महत्वपूर्ण रहेको बताए ।
वडादशैंको अवसर पारेर चन्द्रगढीका स्रष्टा खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन गरिएको हो ।
झण्डै तीन दशक सरकारी सेवामा संलग्न स्रष्टा कोइरालाले जीवनका भोगाइलाई समेटेर कृति तयार पारेका हुन् ।
लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा नेपाली काँग्रेसका प्रवक्ता शर्माको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन समारोहमा लेखकको परिचय सहप्राध्यापक एवम् समालोचक तारा विविध तथा कृतिको समीक्षा सहप्राध्यापक समालोचक चुडामणि वशिष्ठले गरेका थिए ।
साहित्यका स्रष्टा तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा सन्तोष कोइरालाले स्वागत गरेका थिए । कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, अग्रज साहित्यकार घनेन्द्र शर्मा, साहित्य सर्जक मायामितु न्यौपाने, विभूति विद्या मन्दिरका संस्थापक प्रिन्सिपल गोविन्द लम्साललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन प्रज्वल कोइरालाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्