बिर्तामोड , असोज ३०। झापाको गरामनी मेलामा आयोजित सन्थाल नृत्य प्रतियोगितामा बाह्रदशीको राजगढ टोली प्रथम भएको छ ।

प्रतियोगितामा सहभागी ७ वटा टोलीलाई उछिनेर राजगढले १० हजार नगद पुरस्कार जितेको हो । त्यस्तै कचनकवल ६ बनियानीको टोली द्वितीय भएको छ । उसले नगद ८ हजार जितेको छ भने तृतीय स्थान हासिल गरेको कचनकवल ५ ले नगद ६ हजार पुरस्कार पाएको छ । त्यस्तै पाथीभरा नृत्य समूह हल्दिबारीले सान्त्वनास्वरुप ४ हजार र बिर्तामोड ७ को टोलीले नगद २ हजार पाएको छ ।

विजेता टोलीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गरामनी बजार व्यवस्थापन समितिका अध्यक्ष किशोर भट्टराईले पुरस्कार वितरण गरेका थिए । सन्थाल समुदायका अग्रज बुधराई किस्कुको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जितलाल राजवंशी , धुनु सोरेनलगायतले शुभकामना मन्तब्य राखेका थिए ।कृष्णबहादुर श्रेष्ठले संचालन गरेको कार्यक्रममा स्वागत अर्जुन उप्रेतीले गरेका थिए । कोरोना संक्रमणका कारण दुई वर्षपछि गरामनीमा यस वर्ष भव्य रुपमा दसैं मेला लागेको थियो ।मेला भर्नेहरुको अत्यधिक भीड रहेको थियो । गरामनीको नवदुर्गा शक्तिपीठको ऐतिहासिक , धार्मिक र पुरातात्विक महत्व रहेको छ । आफूले मागेको मनोकांक्षा पुरा हुने धार्मिक बिश्वासका साथ त्यहाँ भारतका भक्तालुसमेत दर्शनका लागि आउने गरेका छन् । बडादसैंको नवमीको दिन त्यहाँ महापूजा हुने गरेको छ भने एकादशीको दिन मेला लाग्ने गरेको छ । पूजा र मेलालाई व्यवस्थित पार्न रणबहादुर मगर र हरिभक्त बुढाथोकी अध्यक्ष रहेको ३५ सदस्यीय समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्