झापा , असोज ३० । नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतबाट शनिबार ३–० ले पराजित भएको छ ।

भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थितिलगायतका सबै खाले चर्को दबाबबीच नेपाल फाइनलमा उत्रिएको थियो । नेपालको ‘टेक्निकल एरिया’ मा प्रतिबन्धका कारण प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी थिएनन् ।
नेपालका लागि उनको अन्तिम खेलमा खेलाडीले जित उपहार पनि दिन सकेनन् । पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो । यससँगै प्रतियोगिताको इतिहासमै पहिलो पल्ट फाइनल पुगेको नेपाल उपविजेतामै सीमित रह्यो भने भारतले प्रतियोगितामा आफ्नो एकछत्र प्रभुत्व कायम राख्यो ।
भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको यो कीर्तिमान आठौं पल्ट हो । अहिलेसम्मका १३ संस्करणमध्ये भारतले एक अवसरमा छाडेर सबैमा फाइनल खेलेको छ । दक्षिण एसियाली फुटबलको महाशक्ति रहेको भारत नेपालविरुद्धको खेलमा पनि पूर्णतः हाबी रह्यो र उपाधिका लागि टिम उत्तिकै योग्य पनि सावित भयो ।
राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको लिग चरणका सुरुवाती दुई बराबरी खेलेर कमजोर सुरुवात लिएको भारतले त्यसपछि भने लगातार खेल जितेको थियो । फाइनलमा प्राप्त जित उसको लगातार तेस्रो थियो र यी तीनै खेलमा उसका लागि निश्चित जित आवश्यक थियो । यस्तोमा भारतले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गर्दै उपाधि चुमेको छ ।
वर्षाबीच चलेको खेलको पहिलो गोल सुनील क्षेत्रीले ४९ औं मिनेटमा गरे । नजिकको दूरीमा प्राप्त क्रसलाई उनले सजिलै हेडबाट पहिलो गोल गरे । यो भारतका लागि उनको ८० औं गोल रह्यो । पहिलो गोल खाएर सम्हालिन पनि नपाएको नेपालविरुद्ध सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र उनले यसका लागि पेनाल्टी एरियाबाट शक्तिशाली प्रहार गरेका थिए । यस्तै खेलको ९० औं मिनेटमा सब्स्टिच्युट साह अल्दुलले तेस्रो गोल गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्