बिर्तामोड , कातिक १ । बिर्तामोड नगरपालिकाका प्रशासन शाखा प्रमुख देवराज कार्कीले अनिवार्य अवकाश पाउन अझै दुई वर्ष दुई महिना २५ दिन बाँकी थियो । तर, उनले सामाजिक अभियन्ता भएर सक्रियतापूर्वक सामाजिक गतिविधिमा लाग्न कार्यकाल बाँकी रहँदै सेवाबाट विदा लिएका छन् ।

अधिकृत स्तरको आठौ तहका कर्मचारी बिर्तामोड ४ निवासी कार्कीले ५८ बर्ष उमेर पुगी अनिवार्य अवकाश हुने समय २०८० साल पौष २६ गते रहेको थियो । उनले स्वेच्छाले आजबाट लागू हुनेगरी बिर्तामोड नगरपालिकाको अधिकृत स्तरको आठौ तहको सेवाबाट बिदा लिने निर्णय गरेका हुन् । ‘मुलुकको सामाजिक,आर्थिक र साँस्कृतिक रुपान्तरणको निम्ति सामाजिक अभियन्ता भएर काम गर्ने अबको मेरो योजना छ’उनले प्रतिदिनसँग भने,‘ अब सक्रियतापूर्वक सामाजिक गतिबिधिमा लाग्ने छु ।’ त्यसो त उनले निजामती सेवा छोडेर राजनीति गर्ने चर्चा पनि उत्तिकै छ । नेपाल कम्युनिष्ट पार्टी एमालेको झापा जिल्ला कमिटीको १५ बर्षदेखि सदस्य रहेका कार्की हाल जिल्ला कमिटीको सचिवालय सदस्य छन् । अब आउने स्थानीय तहको निर्वाचनअघि उनले जागिर छोडेका हुन् ।

उनी पेशागत आन्दोलनका अगुवा पनि हुन् । २०४७ साल बैशाख ७ गते स्थापना भएको नेपाल निजामती कर्मचारी संगठनको उनी शुरुबाटै सदस्य हुन् । २०४८ सालको ऐतिहासिक ५६ दिने निजामती कर्मचारी संगठनको शान्तिपूर्ण आन्दोलनमा ताप्लेजुङको एक्सन कमिटीको संयोजक रहेका कार्की नेपाल निजामती कर्मचारी संगठन ताप्लेजुङको २ वर्ष सचिव र त्यसपछि ३ वर्ष अध्यक्ष भए ।त्यसपछि नेपाल निजामती कर्मचारी संगठन झापाको दुई कार्यकाल ५ बर्ष अध्यक्ष, एक कार्यकाल केन्द्रीय सदस्य तथा मेची अंचल ईन्चार्ज, एक कार्यकाल केन्द्रीय उपाध्यक्ष तथा पूर्वाञ्चल ईन्चार्जको जिम्मेवारी निर्वाह गरे । त्यस्तै केन्द्रीय कमिटीको एक कार्यकाल सल्लाहकारसमेत भएर काम गरे ।

त्यसैगरी नेपालका २६ वटा पेशागत संघसंस्थाको छाता संगठन पेशागत महासंघ नेपालको दुई कार्यकाल राष्ट्रिय समितिको सदस्य रहेका कार्की हाल स्थायी कमिटीको सदस्य छन् । उनले २०७३ साल चैत २६ गतेदेखि हालसम्म पेशागत महासंघ नेपाल १ नं. प्रदेश समितिको अध्यक्षसमेत सम्हालिरहेका छन् । लोकतान्त्रिक आन्दोलनमा विशेष भूमिका निर्वाह गर्दै २०६२–२०६३ को जनआन्दोलनका क्रममा घाईते भएका कार्कीले सहकारी आन्दोलनमा समेत विशेष भूमिका निभाएका छन् ।

ईलामको ईभाङ्ग ३ मा माता बिष्णुमाया र पिता लोकबहादुरको साहिला छोराको रुपमा २०२२ पुष २६ गते जन्मिएका कार्कीले शुरुमा २०४३ देखि २०४७ साउन ७ गतेसम्म शिक्षण पेशा गरेका थिए । त्यसपछि २०४७ साल साउन ८ गते मुखिया पदमा जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङबाट निजामती सेवामा प्रबेश गरे । २०४७ र २०५२ सालको बीचमा एक बर्ष उनी जिल्ला बन कार्यालयमा पनि कार्यरत रहे ।

२०५२ सालमा खरिदार पदमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा पदस्थापन भएका उनी लोकसेवा पास गरी २०५४ साल चैत १६ गते जिल्ला शिक्षा कार्यालय धनकुटामा नायब सुब्बा पदमा पदस्थापन भए । त्यसपछि उनी २०५५ साल मंसिर २८ गते जिल्ला शिक्षा कार्यालय झापामा सरुवा भए । २०६२–२०६३ सालमा केहि महिना शैक्षिक तालिम केन्द्र भोजपुरमा कार्यरत रहेका उनी २०६३ को अन्त्यमा पुनः जिल्ला शिक्षा कार्यालय झापामा सरुवा भए ।२०७० साल मंसिरबाट २०७१ पौष १७ गतेसम्म उनले चन्द्रगढी गाविसको सचिव र अध्यक्षको जिम्मेवारी बहन गरे । २०७१ पौष १८ गतेबाट २०७५ साउन १ गतेसम्म शाखा अधिकृत र ९ महिनासम्म कार्यालय प्रमुख भई जिम्मेवारी निर्वाह गरेका कार्की २०७६ साल साउन १ गते शाखा अधिकृतमा बढुवा भए । स्थानीय तहमा समायोजन भएपछि २०७५ साउन २ गतेदेखि उनी बिर्तामोड नगरपालिकामा अधिकृत स्तर आठौ तहमा कार्यरत रहेका थिए । जनसंख्या बिषयमा मास्टर डिग्री गरेका कार्कीले देश बिदेशका प्रशासन सुधार र विकाससंग सम्बन्धित धेरै तालिम प्राप्त गरेका छन् ।

उनले सेवाग्राहीलाई जनार्दन मानी सेवा प्रदान गर्ने क्रममा र पेशागत आन्दोलन हाक्ने सन्दर्भमा अन्जानमा कुनै गल्ती कमजोरी भएको भएमा क्षमा मागेका छन् । उनले भनेका छन् ‘सेवामा रहँदा जनतालाई जनार्दन मानी,जनमैत्री सेवा प्रवाह गर्न उत्प्रेरणा गर्नुहुने आदरणीय ब्यक्तित्वहरु,पेशागत आन्दोलनलाई सम्मानित र मर्यादित बनाउन अवसर प्रदान गर्नुहुने सहकर्मी कर्मचारी ,प्रिय संचारकर्मी साथीहरु तथा सम्पूर्ण संगठक मित्रहरु सबै–सबैमा हार्दिक आभारसहित सम्मान ब्यक्त गर्न गर्दछु र धन्यबाद भन्न चाहन्छु ।लाभग्राही वा सेवाग्राहीलाई जनार्दन मानी सेवा प्रदान गर्ने क्रममा र पेशागत आन्दोलन हाक्ने सन्दर्भमा अन्जानमा कुनै गल्ती कमजोरी भएको भएमा हृदयबाटै क्षमा माग्दछु ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्