इलाम, कात्तिक ३ । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ।

अविरल वर्षाका कारण आएको भेलले बगाएर थप एक र रुखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा परेर दुईजना वेपत्ता र चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोको कारण अधिकांश चुरे क्षेत्र रहेको मांसेबुङ गाउँपालिकामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ भने त्यहाँका दुईजना बेपत्ता छन् । प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ ।
फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई, ८६ वर्षीय नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षीय निश्चित कटवालको मृत्यु भएको छ। उनीहरू सबैको पहिरोमा परी मृत्यु भएको हो।

माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षीय हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्योदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षी विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ ।
देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माइ नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय वेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहीकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ ।पहिरोमा परेर मांसेबुङ ६ चिसापानीका जमन राई र भक्तबहादुर राई, फाकफोकथुम १ ठिंगेपुरका नरबहादुर सेर्मा र खगेन्द्र सेर्मा घाइते भएको प्रहरीले जनाएको छ ।
मानवीय क्षतिसँगै माङ्सेबुङ गाउँपालिकामा रहेका पक्की पुल र बाटो घाटोमा ठूलो क्षति भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए। बुधबार बिहानदेखि भने वर्षा रोकिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्