झापा , कात्तिक ३ । लगातार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर प्रदेश १ मा ५० जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परेर इलाममा १३, पाँचथरमा २७, धनकुटामा ७, सुनसरीमा २, उदयपुरमा १ जनाको मृत्यु भएको हो । प्रदेश १ मा ५ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
इलाममा बाढीपहिरोले १३ जनाको मृत्यु भएको छ ।त्यसमध्ये अविरल वर्षाका कारण आएको भेलले बगाएर एक र रुखले किचेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा परेर दुईजना बेपत्ता र चारजना घाइते भएको प्रहरीले जनाएको छ ।
बाढी पहिरोको कारण अधिकांश चुरे क्षेत्र रहेको मांसेबुङ गाउँपालिकामा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ भने त्यहाँका दुईजना बेपत्ता छन् । प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्यु भएको छ ।
फाकफोकथुम १ की ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई, ८६ वर्षीय नैनसिंह कटवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटवाल र १२ वर्षीय निश्चित कटवालको मृत्यु भएको छ। उनीहरू सबैको पहिरोमा परी मृत्यु भएको हो।
माङ्सेबुङ गाउँपालिका ६ का ५३ वर्षीय हरिप्रसाद राई, २९ वर्षीया कविता राई, सूर्योदय नगरपालिका–३ की ४९ वर्षीया नारायणीदेवी मोते, ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षीय विशाल तामाङको पनि पहिरोमा परी ज्यान गएको छ ।
देउमाई नगरपालिका–२ की सरिता आचार्यको स्थानीय लुटिमाया खोलाले बगाएर र माई नगरपालिका–३ की २५ वर्षीया तेजमाया राईको स्थानीय वेतेनी जंगलमा रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
माङ्सेबुङ ६ की ८२ वर्षीया रनश्वरी राई र त्यहीकी ५३ वर्षीया हरिमाया राई पहिरोमा बेपत्ता रहेको प्रहरीको भनाइ छ ।पहिरोमा परेर माङ्सेबुङ ६ चिसापानीका जमन राई र भक्तबहादुर राई, फाकफोकथुम १ ठिंगेपुरका नरबहादुर सेर्मा र खगेन्द्र सेर्मा घाइते भएको प्रहरीले जनाएको छ ।
मानवीय क्षतिसँगै माङ्सेबुङ गाउँपालिकामा रहेका पक्की पुल र बाटो घाटोमा ठूलो क्षति भएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिंगोले बताए।
त्यस्तै पाँचथरमा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा ३ जना बेपत्ता रहेको मिक्लाजोङ गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । उनका अनुसार मिक्लाजोङ ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन् ।
खोलाले बगाउँदा सोही गाउँपालिकाको वडा नं १ र २ मा ४ जनाको ज्यान गएको छ भने वडा नं ४ रबिमा खोलाले नै बगाउँदा एकजना बेपत्ता भएका छन् ।
यसैगरी वडा नं ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मंगलबार राति पहिरोमा पर्दा फिदिम–४ नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्मायक गाउँपालिकामा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताए । बाढीपहिरोका कारण टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएकाले पनि क्षतिको विवरण संकलन हुन नसकेको उनको भनाइ छ । बाढीपहिरोले दर्जनौं घरपरिवार विस्थापित भएका छन् ।
मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङ तथा पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथर खण्डका दर्जनभन्दा धेरै स्थानमा पहिरो गएको छ । शाखा सडकहरु फिदिम फालौट, जोरपोखरी फिदिम र राँके रवि खण्ड पनि पहिरोले अवरुद्ध भएका छन् । पहिरो पन्छाउन ठाउँठाउँमा जेसीभी खटाइए पनि खुलाउन समय लाग्ने बताइएको छ । वर्षात्सँगै विद्युत्, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध छन् ।
त्यस्तै धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ७ जनाको मृत्यु भएको छ । मंगलबार राति खसेको सो पहिरोमा परी ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ , ११ वर्षीय सञ्जाल श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनीहरु दमक ६ मा होटल व्यवसाय गर्दै आएका थिए ।
घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, र उषा श्रेष्ठ रहेको जनाइएको छ । मृत्यु हुनेमध्ये झापाको दमक ठेगाना भएकाहरू दसैंको टीका लगाउन गएका हुन् । घाइतेको प्रहरी र स्थानीय बासिन्दाले उद्धार गरेको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए । जसमध्ये गम्भीर घाइते ३३ वर्षीया उषा श्रेष्ठ र २९ लीला श्रेष्ठको हेलिकप्टरबाट उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये भेषबहादुर श्रेष्ठको अवस्था समेत जटिल बनेपछि हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी रामनारायण श्रेष्ठले जानकारी दिए । अन्य घाइते लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ र उषा श्रेष्ठको बुधबारे स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन् । मंगलबार राति सुनसरीको विभिन्न स्थानबाट १ सय ५० जनाको उद्दार गरिएको थियो । मोरङमा करिब पाँच सय भन्दा बढी उद्दार गरिएको छ । मोरङमा हजारौं घर डुवानमा परेको मोरङ प्रहरीले जनाएको छ । विराटनगर १, २, ७, ८, ११, १२, १५, १७, १८ का सयौं घर डुवानमा परेको छ । बुढीगंगा गाउँपालिका १ र २, शान्ति चौक बस्ती डुवानमा परेको छ । रतुवामाई नगरपालिका ७ मा ३० घर डुवानमा परेको प्रहरीले जनाएको छ । रतुवा खोलाको बाँध फुटेर बस्तीमा खोला पसेको छ ।
यसैबीच सरकारले बाढी तथा पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेको छ। बुधबार मन्त्रिपरिषद्को बैठकले बाढी–पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिने निर्णय गरेको हो।
बैठकले परिवारको एकजना मात्रै मृत्यु भएको अवस्थामा प्रतिपरिवार २ लाख रुपैयाँ र एकजना भन्दा धेरैको मृत्यु भएको भए प्रतिव्यक्ति थप १ लाखका दरले राहत दिने निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए।
तामाङका अनुसार बाढीपहिरोमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्नेछ। त्यस्तै, मन्त्रिपरिषद् बैठकले बाढी तथा पहिरोका कारण विद्युत्,सञ्चार अवरुद्ध भएका स्थानमा उच्च प्राथमिकताका साथ सञ्चालनमा ल्याउने निर्णय गरेको तामाङले बताए।त्यस्तै, मौसमले साथ दिए प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश र पूर्वका बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने भएका छन्।
‘बाढीपहिरो प्रभावितको तत्काल खोज, उद्धार, राहतमा ध्यान दिने निर्णय भएको छ। त्यसका साथै पुनस्र्थापना र आवास निर्माणका विषयमा पनि छलफल भइरहेको छ। केन्द्र सरकारसँगै स्थानीय सरकार जिल्ला समन्वय समितिले राहत उद्धार कार्य गर्दै आएको उनले बताए।