बिर्तामोड, कात्तिक ३ । बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले बुधबार नगरका विभिन्न वडामा पुगेर वर्षाले पुर्याएको क्षतिको निरीक्षण गरेका छन् ।

आइतबार रातिदेखि परेको भारी वर्षाका कारण धानबालीमा पुगेको क्षतिको नगर प्रमुख शिवाकोटीले बुधबार नगरका वडा नम्बर ९,१० लगायतका वडामा पुगेर निरीक्षण गरेका हुन् । उनले वडा नम्बर ३ को करेलाबारीलगायतका क्षेत्रमा पुगेर अधुवा खोलामा आएको बाढीले पुर्याउन सक्ने क्षतिलाई रोक्नको लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि बताए ।वर्षाका कारण धान बालीमा ठुलो नोक्सानी भएको भन्दै नगर प्रमुख शिवाकोटीले सिङ्गो नगरपालिका स्तव्ध भएको बताए । काटेको धान खेतमै डुबेको, पाक्न नपाउँदै सबै ढलेको देख्दा दःुख लागेको भन्दै उनले क्षतिको विवरण संकलन गर्ने काम भईरहेको र राहतको लागि आफूले सम्बन्धित निकायमा जोडदार पहल गर्ने जानकारी दिए ।

नगर प्रमुख शिवाकोटीले नगरको दृष्टि पुग्न नसेकेको कुनै ठाउँमा भयावह अवस्था आएको भए नगरपालिका तथा आफूलाई सिधा सम्पर्क गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् । उनले किसानलाई परेको दुःखका बेला आवश्यक सहयोग गर्न तथा आ–आफ्नो क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरेर २ दिनभित्रमा नगरपालिकामा बुझाउन समेत वडाध्यक्ष तथा जनप्रतिनिधिहरुलाई आग्रह गरे । बिर्तामोड नगरपालिकाभित्र करिब १५ प्रतिशत पूर्ण र २५ प्रतिशत आंशिक क्षति पुगेको प्रारम्भिक अनुमान रहेको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए । यस वर्ष समयमै पानी परेकाले शतप्रतिशत धान रोपाइँ भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्