झापा , कात्तिक ४ । प्रदेश १ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने निर्णय गरेको छ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो।
पूर्णरूपमा बाढीपहिरोले घरमा क्षति पु¥याएको परिवारलाई घर बनाउन भूकम्पमा क्षति भएसरह तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।
यस्तै, मुख्यमन्त्री आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहवीमा विजुलीको स्टेशनमा भएको समस्या तत्काल समाधान गर्न, बाढीपहिरोमा फसेकालाई उद्धार, सहयोग गर्न तथा प्रदेशभरि भएको क्षतिको विवरण संकलन गर्न मातहतका विभागहरूलाई निर्देशनसमेत दिएका छन्। स्थानीय तहहरूसँग समन्वय गरी भएका सबै अवरोधहरू हटाउन सरकारका सबै संयन्त्र परिचालित हुनसमेत निर्देशन दिएका छन्।
मुख्यमन्त्री आचार्याले पाकेको धानबालीमा भएको क्षतिको विवरण संकलन गरी कृषकका लागि राहत प्याकेज ल्याउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई निर्देशन दिएका छन्। बैठकमा विभिन्न विभागका प्रमुखहरूले बाढीपहिरोको क्षतिबारे रिपोर्टिङ गरेका थिए।
मुख्यमन्त्री सचिवालयका अनुसार बुधबार साँझसम्मको अपडेटमा प्रदेश १ मा ३८ जनाको ज्यान गएको छ भने अविरल वर्षाका कारण आएको बाढीले ४९ हजार ९४४ हेक्टर जमिनमा लगाएको धान बालीमा क्षति पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्