झापा, कात्तिक ५ । प्रदेश १ मा बाढी पहिरोबाट ६४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोबाट २० जना घाइते र १२ जना बेपत्ता भएका छन् । तीन दिनयता भएको अविरल वर्षापछि सयौं घर डुबानमा परेका कारण ४ हजारभन्दा बढी मानिसहरु विस्थापित भएका छन् । प्रदेश १ प्रहरी कार्यालयका अनुसार प्रदेशमा पाँचथर जिल्लामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एव प्रवक्ता नविनराज राईका अनुसार पाँचथर जिल्लामा मात्र २८ जनाको मृत्यु भएको छ भने १० जना घाइते र ६ जना बेपत्ता भएका छन् ।
पाँचथरको कुम्मायक गाउँपालिका, मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा पहिरोले घर पुरिँदा २८ जनाको मृत्यु भएको हो । पहिरोले बगाएर १० जना घाइते भएका छन् भने ६ जना बेपत्ता भएका हुन् ।
त्यसैगरी इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा १४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते तथा १ जना बेपत्ता भएका छन् । यस्तै धनकुटाको चौबिसे गाउँपालिकामा बाढी पहिरोकै कारण ७ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
सुनसरीको धरान उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी पहिरोको कारण १० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । मोरङको विराटनगर महानगरपालिका–१२ मा १ जनाको मृत्यु भएको छ ।
भोजपुरको रामप्रसास राई गाउँपालिका–६ मा खोलाले बगाएर १ जनाको मृत्यु भएको तथा उदयपुरको त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकामा बाढीका कारण १÷१ जनाको मृत्यु भएको छ । सोलुमा बाढीले बगाएर १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

५० हजार हेक्टरमा लगाएको धानबालीमा क्षति

अविरल वर्षासँग आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । तीन दिनसम्म परेको अविरल बर्षासगै आएको हावाहुरी र बाढीले धानबालीमा क्षति पुर्याएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले वर्षासँगै आएको हावाहुरी र बाढीले १४ जिल्लाको ५० हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको बताए । उनले प्रदेशको करिब १५ प्रतिशत कृषि क्षेत्रमा क्षति पुर्याएको प्रारम्भिक अनुमान रहेको बताए ।

उप्रेतीका अनुसार ३ प्रतिशत अर्थात् १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाइएको पाकेको धान हावाहुरीले पानीमा लडाएका कारण काम नै नलाग्ने गरि पूर्ण रुपमा क्षति भएको छ । ‘अहिलेको यो प्रारम्भिक तथ्याङ्क हो,’ उप्रेतीले भने, ‘क्षतिको विवरण अझै बढ्न सक्दछ । आउने क्रम जारी छ ।’

धान उत्पादनको भण्डार मानिने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी हावाहुरी र वर्षाले क्षति पुर्याएको छ । मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपिएको थियो । तीमध्ये १२ प्रतिशत अर्थात ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको छ । सुनसरीमा ५३ हजार हेक्टर मध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टरमध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पुर्याएको छ ।

प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखुम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश १ का १४ जिल्लामा ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । किसानले रन्जित, सानो मन्सुलीलगायतका धान लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्