झापा, कात्तिक ५ । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे ।उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए ।नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफूहरुको काँधमा आएको उनले बताए । उनले भने, ‘हाम्रो बाजेबज्यै, हाम्रो आमा बुबाहरुले बेहोरेको भन्दापनि पृथक प्राकृतिक विपद्लाई हामीले सामना गर्नुप¥या’छ । अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो । गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो । अब हाम्रो हिमालको उचाई घट्ने अनि समुद्रको सतह बढ्दाखेरी समुन्द्र किनारलाई पनि त्यसले गम्भीर प्रभाव पार्छ । खाली नेपालको मात्र सवाल भएन । त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौती छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिँड्ने ? यो धेरै ठूलो चुनौती हाम्रो काँधमा आएको छ ।’गृहमन्त्री खाँणले विपद् व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए । सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले भने, ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरुलाई, सम्पूर्ण विभागहरुलाई, सम्पूर्ण पक्षलाई जुटाएर अगाडि बढ्नेछ । हामी सबै नेपालीहरुले पनि जुटेरै विपद्बाट नेपालको भूमिको पनि रक्षा गर्नेछौं ।’पानी बिनाको जीवन नहुने भन्दै उनले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानीको रक्षा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्