झापा, कात्तिक ५ । एउटा पदमा एकभन्दा बढी आकांक्षी देखिएपछि नेकपा एमालेको वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न कठिन देखिएको छ ।

झापाको १५ वटै पालिकाको १३१ वटा वडामा भोलि नेकपा एमालेको वडा अधिवेशन हुँदैछ । त्यसक्रममा बिर्तामोडमा हुन लागेको वडा अधिवेशनमा सर्वसम्मत हुने संभावना कम देखिएको हो । सर्वसम्मत नेतृत्व चयन गराउन अधिवेशनको अघिल्लो दिनसम्म विभिन्न प्रयास गरिएपनि त्यति सफल हुन सकिरहेको छैन । बिर्तामोडका १० वटा वडामध्ये केहीमा सर्वसम्मत नेतृत्व चयन हुनै लाग्दा अर्को आकांक्षी खडा भएपछि प्रयास सफल हुन नसकेको बताइएको छ ।

नेकपा एमालेले सहमतिमै अधिवेशन गराउने केन्द्रीय नीति लिएको छ । बिर्तामोडको वडा नं १ को वडा कमिटी अध्यक्षका लागि अग्नीप्रसाद पाण्डेको नाम सर्वसम्मत पारित गराउन खोज्दा सुनिल शिवाकोटीले अध्यक्षमै दावी गरेको जनाइएको छ । त्यस्तै वडा नं ५ मा लक्ष्मी बाँस्कोटालाई अध्यक्ष बनाउने प्रस्तावलाई सर्वसम्मत गराउन खोज्दा जयनारायण गौतमले आकांक्षा राखेका छन् । अधिवेशन नजिकिदै गर्दा आकांक्षीहरु बढ्दै गएका छन् । वडा अधिवेशनमा कडा प्रतिष्पर्धा हुने देखिएको बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बताए ।आफूहरुले सर्वसम्मतकै लागि प्रयास गरिरहेको निर्वाचन समितिका संयोजक रोमणि भट्टराईले बताए । ‘सर्वसम्मतकै संभावना छ ’उनले भने,‘तर टुंगिसकेको चाहिँ छैन ।’

बिर्तामोडको १० वटै वडामा सर्वसम्मत नेतृत्व चयन गर्नका लागि केही दिनदेखि निरन्तर छलफल हुँदै आएको छ । तर, सफल हुन सकिरहेको छैन । छलफलमा आकांक्षीहरुले अडान नछोडेको जनाइएको छ । जसका कारण निर्वाचन हुने देखिएको छ । ‘निर्वाचनसम्बन्धी गाइडलाइन पनि आएको छ ’निर्वाचन समिति संयोजक भट्टराईले भने,‘त्यसलाई टेकेर हामी निर्वाचन गराउन सक्छौं ।’ नेकपा एमाले झापाले बिर्तामोडमा वडा र नगर अधिवेशन गराउनका लागि रोमणि भट्टराई संयोजक र एकराज कार्की , जसमाया गजमेर , बद्री भट्टराई , देवराज कार्की , हरि ओझा र ध्रुव सुवेदी सदस्य रहेको समितिलाई जिम्मेवारी दिएको छ । नगर अधिवेशनमा जस्तै वडा अधिवेशनमा वडा कमिटी अध्यक्ष पदका लागि एकभन्दा बढी आकांक्षी देखिएका हुन् । त्यस्तै यही कात्तिक ९ गतेका लागि तय गरिएको नेकपा एमालेको बिर्तामोड नगर अधिवेशनमा पनि नगर अध्यक्ष पदका लागि ९ जना आकांक्षी देखिएका छन् ।
एमालेको बिर्तामोड नगर अध्यक्ष पदका लागि सुवास भट्टराई , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , नन्दलाल खरेल , भिष्मराज खरेल ,कृष्णप्रसाद मिश्र , मोहन शिवाकोटी , शेखर कँडेल र दुर्गाप्रसाद सिग्देल आकांक्षी देखिएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्