झापा, कात्तिक ७ । सरकारले बाढी पहिरोबाट भएको क्षतिलाई गम्भीरतापूर्वक लिएकाले तत्काल ‘रिलिफ प्याकेज’ ल्याउने प्रधानमन्त्री देउवाले बताउनुभएको छ ।

बेमौसमी वर्षाका कारण प्रदेश १ का जिल्लामा परेको क्षतिको आज निरीक्षण गर्न इटहरी आउनुभएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने जानकारी दिनुभएको हो । उहाँले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनस्करणमा रहेको बताउनुभयो । यसले पारेको क्षति न्यूनसीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उहाँको भनाइ छ । उहाँले बेमौसमी प्रकोपको प्रभाव पूर्वदेखि पश्चिमसम्म परेकाले सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको बताउनुभयो ।

‘सुदूरपश्चिमबाट मध्यपश्चिमका जिल्लाहरुमा बाढी, पहिरो र डुबान भएको छ’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘पूर्वमा पनि त्यस्तै अवस्था भेटियो । पहाडमा पहिरो र बाढीले प्रभाव परेको रहेछ यता (सुनसरीसहित तराईका जिल्लामा) डुबान भएको पाइयो ।’ उहाँले अगाडि थप्नुभयो ‘पहिरोले पीडितलाइ रेश्क्यू, रिलिफ (उद्दार र राहत) गर्ने हो । उनीहरुलाई (प्रभावितलाई) तत्काल खान र बस्ने व्यस्था गर्नुपर्छ । र, अहिले पाल टाँगेर राखेका छौँ । खानाको व्यवस्था गरेका छौँ ।’ तत्काल तीनै तहका सरकारको अन्तरसमन्वयबाट उद्दार, राहत र उपचारमा सरकारको ध्यान गएको प्रधानमन्त्री देउवाले बताउनुभयो ।

अहिले भएको प्राकृतिक प्रकोप अप्रत्याशित भएकाले आगामी दिनमा पनि दोहोरिन सक्ने भन्दै पूर्वतायरीमा लाग्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । उहाँले भौतिक र मानवीय क्षति भन्दा कृषि क्षेत्रमा बढी क्षति भएको उल्लेख गर्नुभयो । अझै धानबाली सखाप नै भएकाले कृषकसँगै सिंगो देशलाई खाद्यसङ्कट आइपर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नभयो । प्रधानमन्त्री देउवासँगै सङ्घीय सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादर पनि क्षतिको निरीक्षण गर्न प्रदेश १ आउनुभएको थियो । प्रदेश १ सरकारका मुख्यसचिवले प्रदेशमा बाढीपहिरोले पारेको प्रभावको बारेमा प्रधानमन्त्रीसमक्ष जानकारी गराउनुभएको थियो । उहाँले प्रदेश सबैभन्दा बढी पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्बुमा धनजनको क्षति भएको जानकारी दिनुभयो । यस्तै, प्रदेशमा ४६ जना पुरुष र २६ जना महिला गरी ७२ जनाको बाढीपहिरोबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशमा सात जना अझै बेपत्ता भएका छन् । बाढी र पहिरोमा परेर प्रदेशका ५७० घर पूर्णरुपमा, ८९४ घर आंशिक रुपमा क्षति भएका छन् । प्रदेशमा १५ देखि २० प्रतिशत धानबालीमा क्षति भएको उल्लेख गरिएको छ । यस्तै, सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीले जिल्लामा भएको बाढीपहिरोको क्षतिको विषयमा जानकारी गराउनुभएको थियो । बिहान सशस्त्र प्रहरी बलको १ नम्बर बराह बाहिनी मुख्यालय पकलीमा हेलिकोप्टरबाट अवतरण गर्नुभएका प्रधानमन्त्री देउवा निरीक्षणका लागि अधिक क्षति भएका पाँचथर र इलामतर्फ प्रस्थान गर्नुभएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्