झापा, कात्तिक ७ । सरकारको लगानीमा नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण गरेको छ ।

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबारदेखि सञ्चालनमा ल्याइएको छ । सबस्टेसन शनिबार चार्ज गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत् आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने विश्वास व्यक्त गरे ।

“सर्लाहीमा अहिले ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत् आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो,” उनले भने, “अब नवलपुर सबस्टेसनबाट सिधै विद्युत् आपूर्ति हुने भएकोले लाइन छोटो हुँदा चुहावट घट्छ, विद्युत् आपूर्ति पनि विश्वसनीय र गुणस्तरीय बन्नेछ । सर्लाहीमा खुल्ने उद्योगहरूलाई पर्याप्त विद्युत् दिन सकिनेछ ।”

पूर्व–पश्चिम १३२ केभी प्रसारणलाइन नवलपुर सबस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ । यही १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत् आपूर्ति गरिनेछ । सबस्टेसनमा १३२÷३३ केभी, ६३ एमभीए र ३३÷११ केभी, १६ एमभीए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ । यही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३÷११ केभी वितरण सबस्टेसनहरूमा विद्युत् आपूर्ति गरिनेछ ।

सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष (आव) २०७४÷७५ र मुख्य निर्माण आव २०७५÷७६ मा सुरु गरिएको थियो । कोभिड–१९ महामारीका कारण उपकरणहरू ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुख निरञ्जन साहले बताए । सबस्टेसनको निर्माणको ठेक्का पावर टेक भारत र वाइबा इन्फ्राटेक नेपालको संयुक्त उपक्रम (जेभी)ले पाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्