इलाम, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढीपहिरो पीडितलाई भेट्दै जनजीवन सहज बनाउन सरकार सधै साथमा रहने आश्वासन दिएका छन् ।

उनले इलामका पीडितहरुसंग भेट्दै सरकारले यसअघि नै राहत घोषणा गरिसकेको र थप प्याकेज अघि सार्ने बताए । अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउने सरकारको तयारी रहेको उनले बताए । मन्त्रिपरिषदको बैठक राखी राहत प्याकेज घोषणा गर्ने उनको भनाई थियो । ‘काठमाडौं गएर आगामी मन्त्रिपरिषद बैठकमा तपाईहरुको लागि दीर्घकालीन राहतको व्यवस्थापन गर्छु’, उनले भने, ’सरकार तपाईहरुको साथमा छ ।’
इलाम, पाँचथरलगायतका जिल्लामा बेमौसमी झरीका कारण ठुलो क्षति पुगेको भन्दैँ देउवाले राहत र पुनःस्थापनाका कार्यक्रम ल्याउने बताए । पहाडमा अध्ययनबिना जथाभावी सडक र विकासका संरचनाहरु बनाउँदा क्षति पुगेको उनले बताए । उनले अव्यवस्थित रुपमा हुने गरेका सडक निर्माणका कामहरु रोक्नुपर्ने बताए ।
‘यहाँमात्र हैन देशभरका पहाडमा जथाभावी सडक बनाइएको छ । पहाडमा जतासुकै डोजर कुदाएर समस्या परेको छ । जहाँ पनि बाटो लगेर पहिरोको जोखिम बढ्यो यो रोक्नुपर्छ ’ देउवाले भने । फरक प्रसंगमा बोल्दै देउवाले नेपाली कांग्रेसको महाधिवेशन चाँडै हुने बताए । अधिवेशन पछि हुने, पछि सर्ने भन्ने नभएको उनले स्पष्ट पारे ।
‘अधिवेशन पछि हुन्छ, सर्छ भन्ने कुरा होईन अधिवेशन हुन्छ हुन्छ’ देउवाले भने ‘निर्वाचन समिति बनाएका छौँ, काम अघि बढेको छ । क्रियाशीलको समस्या समितिले समाधान गर्छ । तपाईहरु मिलेर अधिवेशनमा लाग्नुस् ।’ बेमौसमी बाढी पहिरोबाट इलाममा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ३ जना बेपत्ता रहेका छन् ।
त्यसैगरी पाँचथरमा पहिरोबाट ३० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । सयौँ परिवार विस्थापित छन् । देउवाले इलाम र पाँचथरका पहिरोप्रभावित अन्य क्षेत्रको हवाई निरीक्षण गरेका थिए । यसैबीच फाल्गुनन्द गाउँपालिका–३ का पहिरो प्रभावितले तत्काल बासको व्यवस्था मिलाउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । त्यहाँका पहिरो प्रभावित १ सय ५० भन्दाबढी विस्थापित विद्यालयमा बस्दै आइरहेका छन् ।प्रधानमन्त्रीले यसअघि इलामको माङ्सेबुङ गाउँपालिका–६ को चिसापानी र पाँचथरको मिक्लाजुङ –६ को स्थलगत निरीक्षण गरेका थिए ।

त्यसैगरी प्रदेश १ का जिल्लामा परेको क्षतिको निरीक्षण गर्न इटहरी आएका प्रधानमन्त्री देउवाले सरकारले ‘रिलिफ प्याकेज’ ल्याउने जानकारी दिए । उनले अहिले सरकारको प्राथमिकता नै बाढी पहिरोबाट परेको क्षति न्यूनीकरण रहेको बताए । यसले पारेको क्षति न्यूनीकरणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री देउवासँगै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री भवानीप्रसाद खापुङ र पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि क्षतिको निरीक्षण गर्न आएका थिए । प्रदेश १ सरकारका मुख्यसचिवले प्रदेशमा बाढीपहिरोले पारेको प्रभावको बारेमा प्रधानमन्त्रीसमक्ष जानकारी गराए । उनले प्रदेश १ मा सबैभन्दा बढी पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्बुमा धनजनको क्षति भएको जानकारी दिए । यस्तै, प्रदेशमा ४६ जना पुरुष र २६ जना महिला गरी ७२ जनाको बाढीपहिरोबाट मृत्यु भएको उनले जानकारी दिए ।
यसैगरी, प्रदेशमा सात जना अझै बेपत्ता रहेका छन् । बाढी र पहिरोमा परेर प्रदेशका ५७० घर पूर्णरुपमा, ८९४ घर आंशिक रुपमा क्षति भएका छन् । प्रदेशमा १५ देखि २० प्रतिशत धानबालीमा क्षति भएको उल्लेख गरिएको छ

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्