झापा,कात्तिक ८ । अघिल्लो साता परेको बेमौसमी वर्षाका कारण धानबालीमा धेरै क्षति पुगेको भन्दै नेपाली काँग्रेस बिर्तामोड नगर समितिले क्षतिपूर्तिका लागि बिर्तामोड नगरपालिकासँग माग गरेको छ ।

बिर्तामोड नगरपालिकामा एक ज्ञापन पत्र बुझाउँदै काँग्रेसको बिर्तामोड नगर समितिले कृषकहरुले दुख गरेर लगाएको बालीनाली पाकेर भित्र्याउने बेलामा प्राकृतिक प्रकोपबाट असामान्य क्षति भएर कृषकहरुले भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा क्षतिको विवरण संकलन गरी बिर्तामोड नगरपालिकामार्फत प्रदेश सरकार तथा नेपाल सरकार कृषि मन्त्रालयमा जानकारी गराई क्षतिपूर्ति उपलब्ध गराईदिन माग गरेको हो ।
बितामोड नगरपालिकाको वडा नं १ देखि १० सम्मका सम्पूर्ण वडामा अधिकांश कृषकहरुले लगाएको धान बालीको साथै अन्य नगदे वाली, पशुपंक्षी तथा चौपायासहित कतै पूणर्, कतै आंशिक रुपमा पुगेको क्षतितर्फ नगर समितिले ध्यानाकर्षण गराएको छ । नेपाली काँग्रेस क्षेत्र नं २ को प्रदेश ‘क’का सभापति धर्म लक्सम्बा , नगर उपसभापति सूर्यप्रसाद कन्दङ्वा , नगर सचिव दिवाकर प्रसाई , सहसचिव दिनेश पराजुलीले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गरेको ज्ञापन पत्र नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्