झापा, कात्तिक ९ । प्रतिकुल असर पार्ने भएपछि स्थानीय उपभोक्ताहरुले तीब्र विरोध गर्दागर्दै चारपाने १ मा दर्ता भएको इटाभट्टालाई जबरजस्ती पेलेर हल्दीबारी १ गोलधापमा पुनः संचालन गर्न लागिएको छ । जसबाट स्थानीय बासिन्दा बिस्थापनको जोखिममा परेका छन् ।

भट्टाको विरोध गर्न भेला भएका स्थानीय

चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टालाई जवर्जस्ती हल्दिबारी १ साविक गोलधाप ८ मा संचालन गर्न लागिएको हो । गाउँपालिका कार्यालय र वडा कार्यालयको मिलेमतोमा स्थानीयहरुको विरोधका बावजुद उनीहरुको जनस्वास्थ्यलाई प्रत्यक्ष असर पर्नेगरी पेलेर इटाभट्टा संचालन गर्न खोज्दा मुठभेडको खतरा देखिएको छ । विगत केही महिनादेखि स्थानीयहरु निरन्तर सो इटाभट्टाको विरुद्धमा उत्रिएका छन् । चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टा, संचालन गर्न लागिएको स्थान हल्दिवारीमा दर्ता भएको देखिदैन ।त्यसैगरी वातावरण प्रभाव मूल्यांकन पनि गरिएको पाइदैन ।तर, संचालकहरुले चारपाने १ मा दर्ता रहेको नमूना इटाभट्टाको शाखाको रुपमा हल्दिबारीमा सो इटाभट्टा खोलेको दावी गरेका छन् । त्यस्तै हल्दिबारीमा संचालन गर्नका लागि नमूना इटाभट्टाको वातावरण प्रभाव मूल्यांकन गरिएको छैन । नेशनल ब्रिक इन्डष्ट्रिजको नाममा गरिएको वातावरण प्रभाव मूल्यांकनको निहुँ पारेर संचालकहरुले हल्दिबारीमा नमूना इटाभट्टा संचालन गर्न लागेका हुन् ।

सशस्त्र द्वन्द्वकालमा स्थानीयको बिना स्वीकृति माओवादीको धम्कीको आँडमा करिव १४ वर्षअघि सो इटाभट्टा स्थापना गरिएको थियो । भट्टाका कारण आसपासमा बसोबास गर्ने मानिसहरुलाई अत्यन्तै प्रतिकुल असर परेको र स्थानीय, भट्टा संचालक र कर्मचारीहरुबीचमा आपसी असमझदारी भई दैनिक रुपमा झैझगडा हुन थालेपछि संचालन भएको ३ वर्षपछि सो भट्टा बन्द भएको थियो । सोही भट्टाका कारण एकजनाको मृत्यु भएको स्थानीयले बताएका छन् । बन्द रहेको सोही भट्टालाई हाल आएर पुनः संचालन गर्न लागिएको हो । भट्टाको साँध सिमाना भएका सधियार र भट्टाले प्रतिकुल असर पार्ने क्षेत्रका सम्पूर्ण व्यक्तिहरुसँग कुनै स्वीकृति नलिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्तासमेत नगरी पुनः सो भट्टा संचालन गर्न लागिएको स्थानीय रुकुम गुरुङले बताए । उनले मानव बस्तीसँगै विद्यालय , अस्पताललाई प्रतिकुल असर पार्ने भएपछि आफूहरुले विभिन्न निकायमा निवेदन दिएको जानकारी दिए । सधियारसहित २२ जनाले गत असोज १५ गते हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा भट्टा संचालन हुन नदिन निवेदन दिएका थिए । त्यसअघि उनीहरुले वडा कार्यालयको पनि ध्यानाकर्षण गराएका थिए । तर, वडा कार्यालय र गाउँपालिका कार्यालयसमेतले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने इटाभट्टा संचालनमा रोक लगाउनेतर्फ चासो नदेखाएको स्थानीयले बताएका छन् ।सम्बन्धित वडाका वडाध्यक्ष त्रिलोचन सापकोटा नै भट्टाको पक्षमा लागेको अगुवा रुकुम गुरुङले आरोप लगाए । ‘ यतिका वडाबासी विरुद्धमा उत्रिरहँदा उहाँ वास्ता गर्नु हुन्न’उनले भने ,‘भट्टा चलाउनकै लागि लागिपर्नु भएको छ ।’
स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालय र गाउँपालिका कार्यालयले भट्टा संचालकलाई नै साथ दिएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका छन् । आफूहरुलाई उठिवास लगाउनेगरी खोलिने भट्टा रोक्न आफूहरु जुनसुकै निकायमा जान बाध्य हुने स्थानीय राजकुमार लिङ्खिमले बताए । ‘यतिका मानिसहरुको स्वास्थ्यसँग खेलवाड हुँदैछ’उनले भने ‘हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं ।’ आफूहरु संघर्ष समिति गठन गरी आन्दोलनमा जाने उनले जानकारी दिए । २०६४ फागुन १७ गते चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टाको संचालकमा खगेन्द्र सिग्देल र जगन्नाथ खनाल रहेका थिए । अहिले आएर सो भट्टा शीलादेवी घिमिरे र दिनेश चौलागाईको नाममा आएको देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्