बिर्तामोड , कात्तिक १० । गत असोज २४ गते राति बिर्तामोड ५ को महानन्द चौकमा हत्या गरिएका मासु व्यवसायी इन्द्रबहादुर मगरको हत्यारालाई पक्राउ गरी कानुनी कठघरामा उभ्याउन नेपाल मगर संघ झापाले माग गरेको छ ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति झापाले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी आजसम्म पनि अपराधी पत्ता लाग्न नसक्दा नेपाल प्रहरीको अनुसन्धान विभागका लागि नै एउटा ठूलो चुनौतीको विषय बनेको भन्दै यस्ता आपराधिक गतिविधिहरुलाई निरुत्साहित गर्न आफ्नो सम्पूर्ण प्रविधि प्रयोग गरी अपराधीलाई नियन्त्रणमा लिई कानुनी कठघरामा उभ्याउन माग गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका जिल्ला अध्यक्ष जगत राना मगरले यस्ता घृणित र निन्दनीय कार्य कसले गरायो त्यसको आजसम्म पनि अत्तोपत्तो लाग्न नसकेको भन्दै एकजना निर्दोष असल व्यवसायीले ज्यानै गुमाउनु पर्ने के गल्ती गरे होला भनी प्रश्न गरे ।उनले यस्ता आपराधिक गतिविधिहरु बिर्तामाड नगरमा भइरहनु एउटा अहम् चुनौतीको विषय बन्न पुगेको भन्दै व्यवसायीहरु डर , त्रासमा दिनानुदिन बाँचिरहेको समस्या सुनाए । उनले घटनाको अनुसन्धानलाई सबै तर्फबाट प्रभावकारी बनाउन प्रहरी प्रशासन,उद्योग वाणिज्य संघ , निर्वाचित जनप्रतिनिधि ,मानव अधिकारवादी , सञ्चारकर्मी, व्यापारी तथा आमजनसमुदायसँग अपिल गरे ।

त्यस्तै संघका जिल्ला सचिव बविता लुङगेली मगरले मृतक परिवारलाई उचित राहातको व्यवस्था मिलाईदिनु हुन सम्बन्धित निकायलाई आग्रह गरिन् । कार्यक्रममा मृतककका भाइ तिलबहादुर मगर र श्रीमती माया राईले मासु पसल गर्नेक्रममा घटना हुनु केही दिनअघि सोही ठाउँका सहकारीका कर्मचारी र वर्कसप संचालकसँग विवाद भएको बताए । त्यसबाहेक अरु शंका गर्ने ठाउँ नभएको उनीहरुले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता ज्योतिसिंह दर्लामीलगायतले हत्यारालाई छिटो पत्ता लगाई कार्वाही गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको संचालन शिवन सोराली मगरले गरेका थिए । यसैबीच इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले आफूहरु घटना अनुसन्धानको गहिराईमा पुगेको बताउँदै केही दिनमा परिणाम आउने जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्