दमक, कात्तिक ११ । नगरपालिका र उपभोक्ताको लागतमा कालोपत्रे गरिएको दमक वडा नम्बर ९ को सडकमा वडाध्यक्षले नै रकम नतिर्दा उपभोक्ताबाट रकम उठाउन समस्या भएको छ ।

दमक ९ चियादोकान चौक दक्षिण पूर्वेली टोलको सडक कालोपत्रे भैसकेको दुई बर्ष नाघिसक्दा पनि उपभोक्ताबाट उठाउनु पर्ने रकम नउठेको हो । उपभोक्ताको समेत लागतमा निर्माण सम्पन्न गरिएको सडक कालोपत्रे गर्दा लागेको रकम अधिकांश उपभोक्ताबाट नउठ्दा समस्या भएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
उक्त सडकमा सोही वडाका वडाध्यक्ष रामबहादुर धिमालको समेत जग्गा परेकोले उनले तिर्नु पर्ने १ लाख १७ हजार ७ सय रुपैयाँ निर्माण सम्पन्न भएको दुई बर्ष बितिसक्दा समेत नदिएको निर्माण उपभोक्ता समिति अध्यक्ष उमानाथ न्यौपानेले जानकारी दिए । वडाध्यक्ष समक्ष पटकपटक रकम माग गरिए पनि उनले बिभिन्न बहाना बनाएर नदिएको न्यौपानेले बताए । वडाध्यक्षले नै रकम नदिएपछि अन्य धेरै उपभोक्ताले पनि रकम नतिरेको अध्यक्ष न्यौपानेले बताए ।
सडक निर्माणको कूल लागत १ करोड ४५ लाख १ हजार १ सय ९० रुपैयाँमध्ये उपभोक्ताबाट ४३ लाख ५० हजार ३ सय ५७ रुपैयाँ उठाउनु पर्ने थियो । तर हालसम्म १३ लाख रुपैयाँ मात्रै उठेको उपभोक्ता समिति अध्यक्ष न्यौपानेले जानकारी दिए । वडाध्यक्षले नै रकम नतिरेकाले अरु उपभोक्ताबाट उठाउन भएको समस्याका बारेमा नगरप्रमुख, उपप्रमुखलगायतलाई कुरा राखेपनि त्यहाँबाट समेत सुनुवाई नभएको उनले गुनासो गरे । सडक निर्माण गर्दा रकम नतिर्ने कतिपयको घरजग्गा समेत बिक्री भईसकेकोले नयाँ घरधनीहरुले आफूहरुलाई थाहा नभएको बताउन थालेको अध्यक्ष न्यौपानेले बताए ।
वडाध्यक्ष आप्mनै कार्यकर्ता भएकोले नगरपालिकाको नेतृत्वबाट रकम असुलीमा सहयोग नभएको अन्य उपभोक्ताले आरोप लगाएका छन् । पहुँच हुने र ठूला मान्छेले जे गरे पनि हुने रहेछ भन्दै रकम दिने उपभोक्ताहरुले पनि रकम फिर्ता माग्न थालेको उपभोक्ता समिति सचिव प्रदिप विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्