भद्रपुर, कात्तिक १२ । झापाका अग्रज पत्रकार नकुल काजीले नेपाली राजनीतिको महत्वपूर्ण खण्ड पञ्चायतकालको यथार्थ चित्रण गरेर संस्मरणात्मक शैलीमा ऐतिहासिक कृति प्रकाशन गरेका छन् ।


राजाको प्रत्यक्ष शासन मानिएको निर्दलीय पञ्चायतभित्र जनताका सेवकको प्रचार गर्दै पञ्चहरू राजा र जनताको बीचमा कोरेको दूरी प्रष्ट पार्दै काजीले ऐतिहासिक कृति पाठकसामु ल्याएका हुन् ।
११८ पृष्ठको १८ खण्डमा संरचित यस पुस्तकको भूमिका चूडामणि वशिष्ठ र गोपाल गिरीले तयार पारेका छन् । ३० वर्षे पञ्चायतकालीन झापा कस्तो थियो ? पञ्चहरू कस्ता थिए ? नेता कर्मचारीहरूले जनतालाई कसरी दुःख दिन्थे ? सामन्तीहरूको किर्ते काइते,कानुनी जालझेल,शोषण–दमन कुन हदसम्मको थियो ? खमार काण्ड, पाटा काण्ड, झोडा काण्ड, सुखानी हत्याकाण्ड के प्रयोजनका लागि कसरी घटित भएका थिए र त्यसको परिणाम के निस्क्यो जस्ता ऐतिहासिक सन्दर्भको इतिहास जान्न बुझ्न फलदायी पुस्तक बनेको छ ।
२०३५ साल पछिका पुस्ताले पञ्चायतकाल सुनेपनि स्मरण गर्न सक्ने गरी अनुभव गर्न पाएका थिएनन् । त्यो पुस्ताले यस पुस्तकमा पञ्चायत अनुभव गर्न पाउने वातावरण काजीले तय गरिदिएका छन् । पञ्चायती झापाको आँखीझ्यालबाट त्यसबेलाको सिंगै देशको शासन व्यवस्थालाई नियाल्न सकिने यो पुस्तक रोचक भएको पाठकले अनुभव गर्नेछन् ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्