बिर्तामोड , कात्तिक १३ । झापामा स्वास्थ्य क्षेत्रमा लागेकाले ठूलै फन्डा गर्ने गरेका छन् । मानौं उनीहरु जस्तो कसैले काम गरेकै छैनन् । तर, त्यही क्षेत्रका सुजन शिवाकोटी प्रचारको लोभ नगरी निरन्तर क्रियाशील छन् ।

विगत दुई वर्षदेखि शंकर अस्पताल शनिश्चरेका प्रबन्ध निर्देशक रहेका शिवाकोटीले स्वास्थ्य क्षेत्रमा काम गरेको एक दशकभन्दा बढी भइसक्यो । डिएन हर्बल उद्योग काठमाण्डौंद्वारा उत्पादित श्रीखण्ड ब्रान्डको चिउरी , पपया ,फेसजस्ता हर्बल साबुनको १ र २ नं प्रदेश प्रमुख रहेका शिवाकोटीले तारादेवी उद्योगको नामबाट आफैले आगमन ब्रान्डका टुथपेस्ट उत्पादन गरेका छन् । एक समयमा हर्बलका उत्पादनहरु निकै चलेका थिए । तर, अहिले निकै कम्पनीहरु बन्द भएका छन् । आफूहरुको उत्पादनप्रति उपभोक्ताहरुको बिश्वास कायम रहेकोमा उनी गर्व गर्छन् । ‘ स्वदेशी उत्पादन भएर ग्राहकहरुले माया गर्नु भएको छ ’ उनले भने, ‘ शुरुका दिनमा बजारमा जाँदा जुन अप्ठ्यारो थियो , त्यो अहिले छैन ।’ क्वालिटी र रेगुलरिटी भएकाले आफूहरुको उत्पादनप्रति उपभोक्ताहरु सन्तुष्ट रहेको उनले बताए ।
मानव स्वास्थ्यको क्षेत्रमा हात हालिसकेपछि उनले त्यससँग सम्बन्धित विभिन्न सेवामूलक व्यवसाय गर्दै आएका छन् । त्यसक्रममा उनले अर्जुनधारा ६ मा माता पोलिक्लिनिक पनि खोलेका छन् । त्यहाँ आकस्मिक सेवासहित स्वास्थ्यसम्बन्धी विभिन्न सेवाहरु उपलब्ध रहेको क्लिनिकका अध्यक्ष रहेका शिवाकोटीले बताए ।

पछिल्लो समयमा उनी जिल्लाकै पुरानो स्वास्थ्य संस्था शंकर अस्पताललाई संरक्षण र संबद्र्धन गर्न लागिपरेका छन् । अहिले त्यहाँ २५ बेडको व्यवस्था गरिएको छ भने तीनजना बिशेषज्ञको सेवा उपलब्ध छ ।‘हामीले चौबीसै घण्टा इमर्जेन्सीलगायतका सेवा दिइरहेका छौं ’उनले भने , ‘ डा. शंकर उप्रेतीको नासो शंकर अस्पताललाई जोगाउन लागिपरेका छौं ।’ शंकर अस्पतालबाट जिल्लाका उत्तरी क्षेत्र र इलामको दक्षिणी क्षेत्रका बासिन्दा लाभान्वित हुने गरेका छन् । ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गरी झापाको राजगढमा पनि अस्पताल खोल्ने योजना रहेको उनले सुनाए ।
माता स्वर्गीय तारादेवी शिवाकोटी र पिता पुण्यप्रसाद शिवाकोटीका ४ छोरा र एक छोरीमध्ये कान्छा छोराको रुपमा २०४१ साल पुष ११ गते जन्मिएका शिवाकोटी मनोरंजनको क्षेत्रमा पनि दख्खल राख्छन् । क्षितिज नाट्य समूहअन्तर्गत संगीत साधना प्रतिष्ठानको सचिव रहेका उनले विभिन्न सन्देशमूलक लघु चलचित्रमा अभिनय गरेका छन् । ‘हाम्रो जंगल’ भन्ने चलचित्रमा अभिनय गरेका उनले भर्खरै शुभमुहूर्त भएको ‘परिबन्ध’ चलचित्रमा पनि खेल्दैछन् । गत लकडाउनमा उनले साथीहरुसँग मिलेर बिर्तामोडका करिब २ हजार सामुदायिक कुकुरलाई एक महिनासम्म खाना खुवाएका थिए । हालसम्म राजनीतिबाट टाढा रहेका उनी अहिलेको देशको राजनीति हेरेर दिक्क मान्छन् । यदि यसरी नै राजनीतिक नेतृत्व नसच्चिने हो भने अब युवाहरुले त्यसबारे सोच्नु पर्ने उनी बताउँछन् ।

१ प्रतिक्रिया

  1. सुजन शिवाकिटी “शिवाकोटी बंश कै बढी संभावना” बोकेको मानिस । उसको बहु आयामिक स्वभावले म पनि प्रभावित भएँ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्