अर्जुनधारा, कात्तिक १४ । यही कात्तिक २५ गतेबाट सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा पहिचानवादी जातीय संगठनहरु जनगणनालाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट लागिपर्ने भएका छन् ।

आईतबार अर्जुनधारा नगरक्षेत्रका किरात चाम्लिङ राई खाम्बातिमले अन्तरक्रिया गर्दै जात÷जातिको महलमा राई, पुर्खाको भाषा कुन हो भन्नेमा चाम्लिङ, मातृभाषा कुन हो भन्नेमा चाम्लिङ, दोस्रो भाषा कुन हो भन्दा नजिकको कुनै एक राई वा किरातीहरुको भाषा र कुन धर्म मान्नुहुन्छ भन्ने महलमा किरात लेख्न अनुरोध गरेका छन् ।
अन्तरक्रियामा प्रमुख अतिथि खाम्बातिमका जिल्ला सचिव गौरीमान राईले माथिका शब्दहरु लेख्न सकिएन भने चाम्लिङ भूमिपुत्र राईहरुको अस्तित्वमा प्रहार हुने बताउँदै यो वर्षको १२ औं जनगणनामा सचेत भई चाम्लिङ खाम्बातिमले उठाएको आवाजलाई सबैले मिलेर लागू गर्नुपर्ने बताए ।कार्यक्रममा विशिष्ट अतिथि किरात राई पत्रकार संघका केन्द्रीय सल्लाहकार दिपीन राईले जनगणनालाई बुझ्न सकिएन र पहिचानवादी किरातीहरु सचेत हुन सकेनन् भने एक कदमपछि परिने बताए ।उनले समग्र जातिको विकास जनगणनाबाट हुने र राज्यबाट हुने सहयोग पनि त्यहीबाट चलायमान हुने भएको हुँदा जातीय संगठनले उठाएको आवाजमा आदिवासी जनजातिहरुले हेलचेक्राई गर्न नहुने बताए ।
क्याप्टेन मानबहादुर चाम्लिङ राईको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमपछि किरात राई चाम्लिङ खाम्बातिम अर्जुनधारा नगर समितिको नयाँ कार्य समिति चयन गरिएको छ ।समितिमा अध्यक्ष क्या. शिवकुमार राई, उपाध्यक्षमा कुमार चाम्लिङ राई, सचिव सरिता चाम्लिङ राई, सहसचिव जीवन चाम्लिङ राई, कोषाध्यक्षमा अनिता चाम्लिङ राई चुनिएका छन् ।यसरी नै सदस्यहरुमा रुपा चाम्लिङ राई, राजकुमार चाम्लिङ राई, राजन चाम्लिङ राई, सन्तोषी चाम्लिङ राई, सोमा चाम्लिङ राई, इन्द्रबहादुर चाम्लिङ राई, रामदल चाम्लिङ राई, सिंहबहादुर चाम्लिङ राई, राजन चाम्लिङ राई र राजेश चाम्लिङ राई रहेका छन् ।

यसैबीच किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर समितिले पनि एक अन्तरक्रिया गर्दै चुम्लुङ केन्द्रीय समितिले उठाएको आवाजलाई आत्मसात गर्न सबै लिम्बू समुदायहरुलाई आव्हान गरेको छ । अर्जुनधाराका अध्यक्ष तिलसिंह माङ्मुको सभापतित्वमा भएको अन्तरक्रियामा चुम्लुङका महासचिव निरन्ती तुम्बापोले जातिको महलमा लिम्बू, पूर्खाको भाषामा लिम्बू, मातृभाषामा लिम्बू, दोस्रो भाषा कुन हो भन्ने महलमा नजिकको आदिवासी जनजातिको भाषा, कुन धर्म मान्नु हुन्छ भन्नेमा किरात लेखेर जान सबैलाई अनुरोध गरे ।
कार्यक्रममा जिल्ला अध्यक्ष सेसेहाङ फ्याँकले जनगणनाको लक्ष्य र उद्देश्यका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा चुम्लुङका संस्थापक झापा जिल्ला सचिव कृष्णकुमार थेवेलगायतले जनगणनामा कुटनीतिक चाल शासकले गर्ने हुँदा सचेत रहन आग्रह गरे । स्व. नवल फाइवालीको निवासमा आयोजित अन्तरक्रियामा विभिन्न क्षेत्रबाट उपस्थित रहेका थिए ।यसरी नै शनिबार अर्जुनधारा क्षेत्रमा रहेका यायोक्खासँग आवद्ध राईहरुले पनि अन्तरक्रिया गरेका छन् भने मगर, तामाङ, नेवारलगायत जातीय संगठनहरुले जनगणनामा सचेत भइ अस्तित्व कायम गर्न आग्रह गरेका छन् ।