बिर्तामोड , कात्तिक १५ । सहारा नेपाल (साकोस) लिमिटेडको २५ औं वार्षिक साधारणसभाको अन्तिम माईन्युट प्रमाणित भेला कात्तिक २७ गते हुने भएको छ ।

प्रदेश सहकारी रजिष्ट्रारकोे कार्यालय इटहरीको निर्देशन बमोजिम ९० स्थानमा एकाई भेला सम्पन्न गर्दै प्रतिनिधिमुलक ढंगबाट सदस्यहरुलाई समापन साधारणसभामा सहभागी गराईने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । संस्थाले संचालन गर्ने एकाई साधारण सभा तथा माईन्युट हस्ताक्षर सभाहरुमा कोभिडको कारण सम्पूर्ण सुरक्षा मापदण्ड अपनाएर मात्र कार्यक्रम सञ्चालन गरिने कार्यकारी निर्देशक महेन्द्र गिरीले जानकारी दिए । उनले यसै वर्ष संस्थाले सदस्य संरक्षण सिद्धान्त राम्रोसंग पालना गरेवापत स्मार्ट क्याम्पियन नेटवर्कले प्रदान गर्ने विश्वस्तरको मान्यताप्राप्त स्मार्ट सर्टिफिकेशन प्राप्त गर्न सफल भएको बताए ।
उनले यो अवस्थासम्म आइपुग्दा संस्थाको वित्तीय कारोवार १३ अर्व नजिक र सामाजिक पूँजीमा समेत उल्लेखनीय प्रगति हासिल भएको बताउँदै संस्थाले आफ्नो वित्तीय अवस्थालाई अझ मजबुत बनाउने सोचअनुरुप २०७८–२०८८ सम्मको लागि रणनीतिक योजना निर्माण गरी एक खर्वको लक्ष्य तय गरिने जानकारी दिए । उनले प्रस्तुत गरेका संस्थाका नीति तथा कार्यक्रमहरु यस प्रकार रहेका छन् ।
–यो संस्थामा २०७८ असार मसान्तसम्म १,५०,३५४ जना शेयर सदस्यहरु आवद्ध रहनु भएको छ भने प्रदेश १ का ११ जिल्लाका ८० गाउँ तथा नगरपालिकाहरुलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको छ । संभवत यो संस्था देशकै उत्कृष्ट संस्थाको रुपमा समेत पर्दछ ।
–यो संस्थाको वित्तीय अवस्था अत्यन्त मजवुद रहेको कुरा आँकडाले प्रस्तुत गर्ने नै छ । जसमा शेयर पुँजी १ अर्व४६ करोड ६५ लाख, जगेडा कोष ९४ करोड १ लाख तथा अन्य कोष ३७ करोड ५७ लाख, बचत ८अर्व २३ करोड ९४ लाख,लगानीमा रहिरहेको ऋण १० अर्व १ करोड ४२ लाख, भौतिक सम्पत्ति४० करोड ८८ लाख र बाह्य ऋण १ अर्व ३२ करोड रहेको छ । ०७८ असार मसान्तसम्मको संस्थाको वासलात १२ अर्व७१ करोड ८१ लाख पुगेको छ ।
–अहिलेको यो जटिल परिस्थितिमा पनि संस्थाले यस वर्ष ४५ करोड १२ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
–संस्थाले यस वर्षदेखि नयाँ नारा “मेरो गौरव, मेरो सहारा, सधैंको लागि सवैको लागि” भन्ने तय गरेको छ ।
–बिगत वर्षझैं कोभिडको कारण ऋणको साँवा तथा ब्याज तिर्न नसकेको अवस्थामा पनि संस्थाले कुनै पनि प्रकारको ऋणमा हर्जना, जरिवाना लिएको छैन । साथै कोभिड पोजेटिभ भएका ४ हजारभन्दा बढी सदस्यहरुलाई घरदैलोमा नै गई पोषण सामग्री वितरण गरिएको थियो ।
–संस्थाको रजत वर्षको अवसर पारेर संस्था स्थापना गर्ने व्यक्तिहरु, पूर्व संचालक तथा सल्लाहकारहरुलाई सम्मान गरिएको थियो भने राष्ट्रिय व्यक्तित्व सम्मान सहकारीका धरोहर केशव बडाललाई दिने घोषणा भएकोमा यसै साधारणसभामा सम्मान गरिने छ ।
– संस्थाले यस आ.व.०७८÷०७९ को लागि वित्तीय तथा गैर वित्तीय १६ वटा शीर्षकहरुमा ७२ वटा कार्यक्रम प्रस्तावित गरिएको छ । यी कार्यक्रमहरुलाई सारांशमा प्रस्तुत गरिने छ ।
–यस संस्थाले सदस्यहरुलाई क्रमश ः प्रविधिमैत्री बनाउँदै लैजाने योजना अघि सारेको छ । जसमा ट्याव्लेट बैकिङ, मोवाईल एप्स, क्यु.आर.कोड र एस.एम.एस बैंकिङ संचालनमा ल्याईसकेको छ । यसै वर्षदेखि ए.टी.एम.सेवा पनि संचालनमा ल्याईने छ ।
–संस्थाले यसै वर्षदेखि सहुलियत ब्याजदरको वैदेशिक ऋण ल्याउन प्रयत्न गरिने छ । यो ऋण रोजगारी सृजना र गरिवी न्यूनीकरणको लागि प्रदान गरिने छ ।

–“म पनि उद्यमी”– कार्यक्रमले सम्पूर्ण शेयर सदस्यहरुलाई उद्यमी बनाउन प्रयास गरिने छ । यस अन्तर्गत आगामी ४ वर्षभित्र दश हजार उद्यमी सदस्य तयार हुनेछन् । यो कार्यक्रमले सम्भाव्यता अध्ययन, तालिम÷सीप, ऋण, बजार र प्राविधिक ज्ञान सहयोग गरिने छ ।
–यो संस्थाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन शुरु गर्ने नीति लिएको छ । जसअनुरुप अल्पसंख्यक अतिविपन्न परिवारका सदस्यका छोराछोरी (सन्थाल, मुसहर, लेप्चा, किसान)लाई डाक्टर (एमबीबीएस ) अध्ययनको लागि १० जनालाई सहयोग पुर्याउने छ । यस वर्ष २ जनाबाट शुरुवात गरिने छ ।
–यसैगरी यस वर्ष संस्थाका २०० अतिविपन्न परिवारका सदस्यहरुलाई रासन कार्डको माध्यमबाट चामल, दाल, तेल, नुन, चिनीमा ५० प्रतिशत अनुदान राहत उपलब्ध गराईने छ ।
–यो संस्थाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत पूर्ण असक्तता, एकल महिला÷पुरुष, ज्येष्ठ सदस्यहरु तथा अनाथ वालवालिकाहरुको संरक्षणमा संस्थाले प्रदान गर्दै आएको सहयोग निरन्तर रहने छ ।
–यो संस्थाको महत्वपूर्ण लोकप्रिय स्वास्थ्य कार्यक्रमअन्तर्गत ९ योजना अघि सारिएको छ । यस कार्यक्रमअन्तर्गत सुत्केरी पोषण, होम केयर, संजिवनी, जीवन बरदान, सिनियर सिटिजन हेल्थ केयर,वेलनेस सेन्टर, एम्बुलेन्स सेवा, फार्मेसी सेवा र विपन्नलाई स्वास्थ्य वीमा कार्यक्रम यस वर्ष पनि संचालनमा ल्याईने छ ।
–संस्थाले कोभिड पोजेटिभ भएका सदस्यहरुलाई होम आईसोलेसनमा बस्दा औषधि वापत रु ७ हजार र अस्पताल भर्ना भई उपचार गराउनु परेमा रु ३ लाखसम्म उपचार सहयोगलाई निरन्तरता दिईने छ ।
–संस्थाले सामुदायिक विकासको कार्यक्रमअन्तर्गत उदयपुर र पाँचथरका विकट गाउँपालिकाका प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई एम्बुलेन्स उपलब्ध गराउने कार्यलाई निरन्तरता दिईने छ । यस वर्ष पनि ४ वटा एम्बुलेन्स वितरण गरिने छ ।
–यस संस्थाले सदस्यहरुको स्वास्थ्य सेवालाई अझ सहज बनाउन सहारा हेल्थ सेन्टर स्थापना गरी आधारभूत डाईग्नोसिस सेवा सुरु गर्न एक भवन निर्माण कार्यको थालनी गरिने छ ।
–यो संस्थाको तेस्रो महत्वपूर्ण योजनाको रुपमा रहेको कृषि तथा पशु व्यवसाय प्रवद्र्धन रहेको छ । यस वर्षदेखि संस्थाले सदस्यहरुको उत्पादनहरुलाई बजारीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने छ । यसको लागि सम्भाव्यता अध्ययन गरी किसानहरुको १० वटा उत्पादनलाई प्रशोधन र बजारीकरण साथै उत्पादनमा प्राविधिक सहयोग समेत गर्नेछ ।

–यो संस्थाका शेयर सदस्यहरुले व्यावसायिक कृषि ऋण लिई गाई तथा भैंसी पालन गरिरहेको भएमा सोबाट बाछा–बाछी,पाडा–पाडी जन्मेको अवस्थामा सुत्केरी भत्तावापत रु १ हजार उपलब्ध गराईने छ ।
–यो संस्था क्रमश ः एउटा बलियो संस्थाको रुपमा स्थापित हुन एकीकरण प्रक्रियालाई निरन्तरता दिर्दै आएको छ । आगामी दिनमा पनि बिग मर्जको अवधारणासमेतलाई अघि बढाईने छ ।
–यो संस्थाले यसै आ.व. भित्र ८५ सेवाकेन्द्र, २ लाख सदस्य र १६ अर्वको वासलात बनाउँदै ६० करोड नाफा कमाउने प्रक्षेपण गरेको छ ।
–यसै वर्ष संस्थाको छैंटौं अधिवेशनबाट संचालक समिति तथा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत प्रक्रियाबाट चयन गर्न पहल गरिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्