झापा , कात्तिक १८ । गोरखा राज्य एकीकरण अभियानमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार बिशे नगर्चीको नामबाट सम्मान तथा पुरस्कार कार्यक्रम गरिने भएको छ ।

गोर्खा फाउण्डेशनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी दिइएकोे हो । प्रदेश एक साथै देशभरि विभिन्न बिधामा क्रियाशील रहेर राष्ट्र र समाजलाई विशेष योगदान पुर्याउने दलित तथा गैर दलित समुदायका ब्यक्तित्वलाई यो सम्मानद्वारा सम्मानित गरिने फाउण्डेशनका संस्थापक वीरबहादुर दर्नाल ( वीरु ) जानकारी दिए । साथै भारतको दार्जिलिङ , सिक्किम , आसामलगायतका नेपाली भाषी दलित समुदायलाई समेत उक्त सम्मान प्रदान गरिनेछ ।
गोरखा दरबारमा नगरा बजाउने दमाई जातिका बिशेले गोरखा राज्य एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहलाई आर्थिक संकट परेका बेला राजाबाट सल्लाह भए अनुसार आफूसंग भएको एक रुपैयाँ समर्पण गरेर राज्यभरिका १ हजार २ सय घरधुरीबाट यसरी एक–एक रुपैयाँ उठाए हतियार किन्न आवश्यक रकम जम्मा हुने सल्लाह दिएका थिए । सोही अनुसार गरेर गोरखा राज्य विजय हासिल गर्न राजा सफल भएको ईतिहासमा उल्लेख छ । बिशेले एक रुपैयाँ दिएर र लडाईका क्रममा फौजलाई ऊर्जा दिन कहिले नगरा बजाएर त कहिले संगीत सुनाएर समेत गोरखा राज्य एकीकरणमा योगदान दिएको इतिहासमा उल्लेख गरिएको पाईन्छ । गोरखा जिल्लाको गितार डाँडामा २०७५ सालमा बिशेको शालिक स्थापना गरी नगरपालिकाको सहयोगमा पार्क निर्माण गरिएको छ ।
गोर्खा फाउण्डेशन मुख्य आयोजक र झापाका १५ वटै स्थानीय पालिकालाई यस कार्यक्रमको सहआयोजक बन्न आवश्यक पहल गरिने बताईएको छ । झापाको गौरव राख्न सक्ने राष्ट्रिय स्तरको कार्यक्रम र राष्ट्रिय ब्यक्तित्वको नामबाट कार्यक्रम गरिने भएकोले सबै क्षेत्र , संघसंस्था एवम् नागरिक समाजलाई अपनत्व हुने गरी सबैको साझा कार्यक्रमको रुपमा थालनी गरिएको पत्रकार सम्मेलनमा फाउण्डेशनका महासचिव रन्जित परियारले बताए ।
यहि पौषको दोस्रो साता कार्यक्रम गरिने भएको छ । दुई वर्षअघि नै गर्ने तय भएको यो कार्यक्रम कोभिडका कारण स्थगित गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्