बिराटनगर , कात्तिक २१ । विराटनगरस्थित बंगाली समाजले पहिलो पटक भब्य काली पूजा समारोह सम्पन्न गरेको छ ।

बिराटनगर महानगरपालिकाको वडा नम्बर ३ दुर्गा चोकमा आयोजित सो समारोहमा ९ फिटको श्यामा काली भगवतीको भब्य मूर्ति निर्माण गरी पूजा गरिएको हो । बिराटनगर क्षेत्रमा बसोबास गर्ने बंगाली समाज संगठित भएपछि पहिलो पटक सार्वजनिक रुपमा काली पूजा आयोजना गरिएको पूजा समारोहका संयोजक असिम मित्रले बताए ।

उक्त पूजाको लाभ हजारौ भक्तजनहरुले प्रत्यक्ष रुपमा लिएको बताइएको छ । बिराटनगर क्षेत्रभित्र १० हजारभन्दा बढी जनसंख्यामा बंगालीहरुको बसोबास रहेको नेपाल राष्ट्रिय बंगाली समाजका प्रदेश १ संयोजक रहेका अधिवक्ता सुजित चेलले बताए । बंगाली समुदायको परम्परागत ढाकी, धुनी पुजा, खिचुडी भोग एवं मूर्ति कालिगढ पनि स्थानीय बंगाली नै रहेको बिराटनगर महानगर कमिटीका अध्यक्ष संजय दत्तले बताए ।

कात्तिक शुक्ल पक्षकोे औंसीमा काली पूजा गरिने धार्मिक परम्परा अनुसार माता कालीको पूजा कोलकाताका ब्राम्हणले बिहिबार राति साढे १० बजे पूजा शुरु गरी शुक्रबार बिहान साढे ३ बजे सम्पन्न गरेको समितिका कोषाध्यक्ष राजकुमार दासले बताए ।
नेपाल राष्ट्रिय बंगाली समाजका केन्द्रीय अध्यक्ष पार्थो सरकार, उपाध्यक्ष विप्लव घोष, सचिव संजय वरुवा, सदस्य संजय चेलसहितको टोलीले माताको दर्शन गरी भव्य रुपमा पहिलो पटक यस्तो पूजाको आयोजना गरेकोमा सम्पूर्ण बंगाली समाजको तर्फबाट हर्ष प्रकट गर्दै शुभकामना व्यक्त गरेका थिए ।पूजा समितिका सह संयोजक संजिव शुक्ला, सचिव मनोज साह, सदस्य रोशन दत्तसहित २७ सदस्यीय समिति गठन गरी आयोजना गरिएको उक्त काली पूजाको प्रतिमा तीनपैनी, जलजला चौक बजार परिक्रमा गरी सहिद मैदान हुँदै पानीटंकी धनावत फ्याक्ट्रीको सिंघिया खोलामा विसर्जन गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्