बिर्तामोड , कात्तिक २२ ।झापाको बिर्तामोड–५ स्थित आबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷०७८ मा १ करोड २० लाख ४ हजार ६३ रुपैयाँ खुद नाफा कमाएको छ ।

आगामी मंसिर ११ गते हुने संस्थाको नवौं वार्षिक साधारणसभालाई लक्षित गरी सोमबार कार्यालयको बैठक कक्षमा आयोजित पत्रकार भेटघाटमा संस्थाका सञ्चालक समितिका उपाध्यक्ष राजन वाग्लेद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उक्त खुद नाफा उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले गत साउन ९ गते निधन भएका शेयर सदस्य मिथिलेस कुमार दासको संस्थालाई बुझाउन बाँकी कर्जा तीन लाख ६४ हजार पाँच सय ७८ रुपैयाँ मिनाहा गरी ८५ हजार दुई सय ७८ रुपैयाँ राहत स्वरुप प्रदान गरेको समितिका अध्यक्ष नन्दमान भट्टराईले जानकारी दिए ।सोही कार्यक्रममा अध्यक्ष भट्टराईले मिथिलेस कुमारकी पत्नी निर्मला राजवंशी दासलाई कर्जा मिनाहाको पत्र र धनीपूर्जा हस्तान्तरण गरेका थिए ।

यसअघि कोभिड–१९का कारण भएको बन्दाबन्दीको समयमा सदस्य तथा गैरसदस्यहरुलाई राहत वितरण गरेको संस्थाले चालू आर्थिक वर्ष ०७८÷०७९ देखि स्थानीयस्तरबाट सेवा प्रदान गर्ने उद्धेश्यले अर्जुनधारा ९ गोलधापमा सेवाकेन्द्र विस्तार गर्ने, सुत्केरी भत्ता, ६५ वर्ष माथिका ज्येष्ठ तथा एकल पुरुष र महिला सदस्यलाई सामाजिक सुरक्षा भत्ता, सदस्य र एकाघर परिवारका सदस्यको निधन हुँदा शववाहन उपलब्ध गराउनेलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने जनाएको छ
कार्यक्रममा सल्लाहकारद्वय देबेन्द्र हुमागाईं र नारायण चिमरिया, कोषाध्यक्ष राजेन्द्र मैनाली, सदस्यहरु गौरीप्रसाद भण्डारी, शान्ता भट्टराई , संगिता चिमरियालगायतले संस्थाको गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्