झापा, कात्तिक २३ । स्थानीयले कानुनी बैधतामाथि प्रश्न उठाइरहेका बेला नमूना इटा उद्योगका संचालकहरुले भरपर्दो ठोस प्रमाण पेश गर्दै गोलधापमा अनाधिकृत रुपमा भट्टा नखोलेको स्पष्ट पारेका छन् ।

प्रक्रिया नपुर्याइ भट्टा संचालन गर्न लागेको भन्दै केही स्थानीयले अवरोध गर्न खोजेपछि संचालकहरुले उद्योगको आधिकारिक कागजात पेश गरेका हुन् । उनीहरुले विभिन्न संचारमाध्यममा आएको समाचारप्रति आफूहरुको ध्यानाकर्षण भएको समेत जनाएका छन् ।
स्थानीयको अवरोधसँगै हल्दिवारी गाउँपालिकाको न्यायिक समितिले उद्योगको कागजात नपुगेको भन्दै भट्टा संचालन नगर्न दिएको निर्देशनप्रति आपत्ति जनाउँदै यसअघि नै वडा कार्यालय र न्यायिक समितिमा उद्योगको कागजात पेश गरिसकेको र अन्य कागजात समेत पेश गर्न आफूहरु तयार रहेको भट्टाका संचालक दिनेश चापागाईले बताए । ‘नमूना इटा उद्योग अवैधानिक छँदैछैन , सबै कागजात अपडेट छ ’उनले भने ,‘ हामीले डकुमेन्ट दिइसकेका छौं यदि कुनै बाँकी छ भने दिन तयार छौं ।’ सो भट्टा करिव १२ वर्षअघि नै स्थापना भइ संचालन भएको थियो ।

कम्पनी दर्ताको प्रमाणपत्र

संचालक र कर्मचारीबीच विवाद भएपछि केही वर्ष बन्द रहेको भट्टालाई पुनः संचालन गर्न खोज्दा स्थानीयले विरोध जनाएका हुन् । आफूहरुले राज्यको नीति नियममा रहेर व्यवसाय गर्न खाजेको भन्दै संचालक चापागाईले उद्योग व्यवसाय संचालन गर्ने वातावरण निर्माण गरिदिन सबै पक्षसँग आग्रह गरेका छन् ।
नेशनल बृक इन्डस्ट्रिज नै नमूना इटा उद्योग
विरोधमा उत्रिएका स्थानीयले नेशनल बृक इन्डस्ट्रिज र नमूना इटा उद्योग फरक फरक भएको दावी गरिरहँदा संचालकहरुले दुवै उद्योग एउटै भएको प्रमाण पेश गरेका छन् । नेशनल बृक इन्डस्ट्रिज नै नमूना इटा उद्योग भएको उनीहरुले बताएका छन् ।

प्रबन्ध पत्र

शुरुमा संचालक जगन्नाथ खनाललगायतले घरेलु तथा साना उद्योगको कार्यालय भद्रपुरमा प्राइभेट फर्मको रुपमा नेशनल बृक इन्डस्ट्रिज दर्ता गराएका थिए । सोही फर्मले साविक गोलधाप हालको हल्दिवारी १ मा इटाभट्टा संचालन गर्नका लागि आई ई ई ( प्रारम्भिक वातावरणीय परिक्षा) गराएको थियो । पछि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न जाँदा नेशनल बृक इन्डस्ट्रिज यसअघि नै दर्ता भइसकेकाले त्यसलाई नमूना इटा उद्योगको रुपमा परिणत गर्नुपरेको संचालक चापागाईले बताए । नमूना इटा उद्योगको प्रबन्ध पत्रमा सो कुरा स्पष्ट उल्लेख गरिएको छ । प्रबन्ध पत्रमा लेखिएको छ– घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरमा मिति २०६४–११–१९ गते प्राइभेट फर्म नं २३०–३६–६९३५–०६४–६५ मा दर्ता रहेको नेशनल बृक इन्डस्ट्रिज नामक प्राइभेट फर्मको सम्पूर्ण ऋण , धन तथा दायित्व यसै कम्पनीले सकार्ने, व्यहोर्ने गरी यो प्राइभेट लिमिटेड कम्पनी परिणत गरिएको छ ।’ नमूना इटा उद्योग दर्ता गरिसकेपछि कम्पनी रजिष्ट्रार कार्यालयले दिएको प्रमाण पत्रमा पनि सो कुरा उल्लेख छ । नमूना इटा उद्योगले पाएको दर्ता नम्बर ५२५५२–०६४–०६५ हो ।

घरेलु कार्यालयको आईई प्रतिवेदन

नेशनल बृक इन्डस्ट्रिजलाई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्न जाँदा नाम जुधेकाले नमूना इटा उद्योग राख्नु परेको वरिष्ठ अधिवक्ता अशोक पोखरेलले बताए । उनले नमूना इटा उद्योग कानुनी प्रक्रिया पुर्याएरै खोलिएको स्पष्ट पारे ।‘ नेशनल बृक इन्डस्ट्रिज नै नमूना इटा उद्योग हो ’ उनले भने , ‘एउटै कम्पनीको ७ ठाउँमा ७ वटा उद्योग हुन सक्छन् ।’ त्यसकारण उनले साविक चारपाने ३ मा दर्ता भएको उद्योगले गोलधापमा भट्टा खोल्नु अस्वाभाविक नभएको प्रतिक्रिया दिए । स्थानीयले चारपाने ३ मा दर्ता लिएको उद्योगले गोलधापमा भट्टा खोल्न नपाउने जिकिर गर्दै आएका छन् ।

उद्योग खोल्दा गरिएको सर्जमिन मुचुल्का

प्रक्रिया पुर्याएरै उद्योग स्थापना
त्यसैगरी नमूना इटा उद्योगका संस्थापक अध्यक्ष युवराज दाहालले आफूहरुले २०६४–१०–२१ गते सर्जमिन मुचुल्कालगायतका सबै प्रक्रिया पूरा गरी सम्बन्धित निकायबाट स्वीकृति लिएरै गोलधापमा इटाभट्टा संचालन गरेको बताएका छन् । ‘ छेउको मन्दिरमा सार्वजनिक सुनुवाइका लागि स्थानीयको आम भेला बोलाएका थियौं ’ स्मरण गर्दै उनले भने,‘सबैको स्वीकृतिमा सर्जमिन गराएर भट्टा संचालन गराएका हौं ।’ अहिले विरोध गर्नेहरुले नै त्यतिबेला सर्जमिन मुचुल्कामा हस्ताक्षर गरेका थिए । त्यति बेला संचालकहरुले २०६४ माघ २० गते नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा १५ दिने सार्वजनिक सूचना पनि जारी गरेका थिए । जारी गरिएको सूचना यस्तो थियो–उपरोक्त सम्बन्धमा झापा जिल्ला गोलधाप गाविस वडा नं ८ (साविक राजगढ गाविस ९ मा पर्ने ) कित्ता नं ३१०७ , ३६३० , १३२० , ३६२९ , २५६७ र ३१०८ को जग्गा ६–१८–० कठ्ठा जग्गा इटा उद्योग संचालन गर्नका लागि यस क्षेत्रका विद्यालय , अस्पताल , स्वास्थ्य चौकी वा अन्य कुनै संघसंस्थालाई वातावरणीय प्रभाव सम्बन्धमा लिखित सुझाव दिनका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित मितिले १५ दिनभित्र सरोकारवाला संघसंस्थाले निम्न ठेगानामा सम्पर्क राख्नु होला ।सुझाव दिने ठेगाना– गाविसको कार्यालय गोलधाप , घरेलु तथा साना उद्योग कार्यालय , प्रस्तावक जगन्नाथ खनाल चारपाने ३ झापा रहेको थियो ।

वातावरणीय प्रभावको कुरा गर्ने हो भने हल्दिवारी १ मा पुनम , वरुण र बिशाल गरी तीनवटा इटाभट्टा संचालनमा रहेका छन् । राज्यको नीति नियममा रहेर आफूहरुले त्यही प्रकृतिको उद्योग व्यवसाय गर्न लागेकोले विरोध नगर्न आग्रह गर्दै संचालक चापागाईले प्रभावित क्षेत्रका बासिन्दालाई आफूहरुले अरुभन्दा बढी राहत दिएको जानकारी दिए । उनका अनुसार एक किलोमिटर क्षेत्रभित्रका प्रभावित बासिन्दालाई अरुले ३५ प्रतिशत छुटमा इटा दिने गरेकोमा नमूना इटा उद्योगले ४० प्रतिशत र सधियारलाई ५० प्रतिशत छुट दिएको छ । त्यसैगरी सडकमा धुलोधुवाँ हुन नदिन ट्यांकी प्रयोग गरी दिनहुँ पानी पटाउने व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए । स्थानीय क्षेत्रकै ट्याक्टर , जनशक्तिलाई प्रयोग गरिरहेको बताउने संचालक चापागाईले आफूहरुले सकेसम्म बढी राहत दिने प्रयास गरेको बताए । भट्टाको विरुद्धमा उत्रिएका गोविन्द घिमिरे , राजुकमार लिङ्खिम , रुकुम गुरुङलाई पटक पटक भेटेर विवाद नगर्न आग्रह गरेको उनको भनाइ छ । वैधानिक रुपमा खोलिएको सो इटाभट्टामा यसअघि पनि अवरोध भएको थियो । संचालकलाई धम्क्याउने , गुन्डागर्दी गर्ने , इटा लुट्नेजस्ता काम यसअघि भएको संस्थापक अध्यक्ष दाहालले बताए । उनले उद्योग व्यवसाय गर्न व्यवसायीले गरेको करोडौंको लगानीलाई ख्याल गरी विकासको आधार उद्योग व्यवसाय संचालन गर्ने वातावरण निर्माण गरिदिन सबै पक्षसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्