झापा, कात्तिक २३ । नेपाल गौं–संरक्षण समिति झापाद्वारा निर्मित नेपालको राष्ट्रिय जनावर गाईको शालिक अनावरण गरिएको छ ।

हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुडीमा निर्माण गरिएको गाईको शालिक मंगलबार अनावरण गरिएको हो । नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत् गुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजले शालिकको अनावरण गरेका हुन् ।
नेपालको गौरब नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्यले गाईको शालिक निर्माण गरिएको नेपाल गौ–संरक्षण समिति झापाका अध्यक्ष दुर्गाप्रसाद पाठकले बताए । उनले संस्थाको उद्धेश्य अनुसार गौ–संरक्षण गर्न प्रचारप्रसार तथा चेतना फैलाउनका लागि खुत्रुके बचतबाट अभियान थालेको बताए ।

उनका अनुसार गाउँपालिका, समितिका सदस्य तथा स्थानीय दाताहरुबाट संकलित ११ लाख ४६ हजार ८ सय २४ रुपैयाँको लागतमा शालिक निर्माण गरिएको हो ।समितिका अध्यक्ष पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बालसन्त मोहनशरण देवचार्य महाराज रहेका थिए । कार्यक्रममा शालिक निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्देन, झापाका प्रहरी प्रमुख सानुराम भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत शालिक निर्माण समितिका सदस्य डिल्ली दुलालले गरेको कार्यक्रममा राष्ट्रिय गान सनातन धर्म सेवा समिति झापाका सचिव लक्ष्मीप्रसाद दंगालले गाएका थिए । कार्यक्रमको सञ्चालन पण्डित सोमनाथ सुवेदीले गरेका थिए । साथै मंगलवार नै भएको समितिको प्रथम बार्षिक साधारणसभाले अध्यक्षमा पुनः दुर्गाप्रसाद पाठकलाई चयन गरेको छ । त्यस्तै समितिको उपाध्यक्षमा गणेशप्रसाद पौडेल, सचिवमा कृष्णप्रसाद पाठक, कोषाध्यक्षमा डिल्लीराम दुलाल चयन भएका छन् । त्यसैगरी सदस्यमा कमला पाठक, विनिता भट्टराई, डा. टंकप्रसाद बाराकोटी, लालबहादुर चाहार, कमलप्रसाद घिमिरे, पर्शुराम बजगाई चयन भएका छन् । अन्य ३ सदस्य तथा सल्लाहकार समिति पछि चयन गरिने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्