शिवसतासी , कात्तिक २४ । नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा आफैले हस्ताक्षर गरेको संझौता बर्खिलाप गरेको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माविरुद्ध काँग्रेस नेताहरु खनिएका छन् ।

देउमान थेबेलाई १४ औं महाधिवेशनमा जिल्ला सभापति बनाउने भद्र सहमति गरेर राम कट्टेललाई सभापतिको उम्मेद्वार उठाएको भन्दै देउमान पक्षधर नेताहरु विश्वप्रकाशविरुद्ध खनिएका हुन् । झापाको शिवसताक्षी १० स्थित माङ्हिम मन्दिरमा बुधवार आयोजित एक कार्यक्रमका बीच देउमानले आसन्न अधिबेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गर्दैगर्दा पक्षधर नेताहरुले संझौता भंग गर्ने गैरजिम्मेवार नेतालाई नेतृत्व हस्तान्तरण नगर्न आम कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री केशवकुमार बुढाथोकीले देउमानलाई १४ औं महाधिवेशनमा सभापति बनाउने भद्र सहमतिको साक्षी आफू पनि भएको बताउँदै आफैले हस्ताक्षर गरेको संझौता भंग गरी कट्टेललाई उम्मेदवार उठाउने प्रवक्ता विश्वप्रकाशको तीब्र आलोचना गरे । शर्मालाई सानो मान्छेको संज्ञा दिदै उनले भने , ‘म ६ फुटको मान्छे र त्यो सानो मान्छेले पनि संझौतामा सही गरेका थियौं । अहिले होइन भनेर भन्दै हुनुहुन्छ । सानो मान्छे पत्याउँदैन ।’ आफूलाई मन नपरेको मान्छे भएर विश्वप्रकाशले देउमानको विरोध गरेको दावी गर्दै नेता बुढाथोकीले सहमति, सहकार्य र एकता नमान्नेलाई नेतृत्व हस्तान्तरण गर्नु चिन्ताको विषय भएकाले एक मतले देउमानलाई जिताउन आव्हान गरे ।

बुढाथोकीले देउमानलाई सभापति बनाउने बिषयमा १३ औं महाधिवेशनमा सहमति भएको बताउँदै सहमति गर्नेमा आफू, कृष्णप्रसाद सिटौला, नरेन्द्रबिक्रम नेम्बाङ, सुधिरकुमार शिवाकोटी, डिल्लीप्रसाद सिटौला, विश्वप्रकाश शर्मा, पुर्णानन्द दाहाल, गोपालकुमार बस्नेत रहेको दावी गरे । भद्र सहमतिलाई तोड्नु राजनैतिक नैतिकता बिपरित हुने उनको भनाइ छ । सहमति र सम्झौता अनि भद्र सहमतिलाई तोड्ने नेताको भर नहुने हुँदा, त्यस्तालाई कार्यकर्ताले बेलैमा चिन्नु पर्ने बुढाथोकीले बताए ।
झापा जिल्लामा कम्युनिष्टसँग लड्न जुझारु र सशक्त नेतृत्व देउमान नै भएको भन्दै उनले अहिलेसम्म खस आर्यहरु मात्र सभापति हुँदै आएकोमा पहिलोपटक जनजाति समुदायका लिम्बूको छोरालाई सभापति बनाएर उदाहरण प्रस्तुत गर्न आग्रह गरे । जनजाति समुदायका देउमानलाई काँग्रेसको सभापति जिताउनु भनेको समावेशीको नमुना हुने धारणा राख्दै नेता बुढाथोकीले काँग्रेस विचार र व्यवहार दुबैमा समाबेशी भएकोले सभापतिका लागि देउमानलाई उभ्याएको धारणा राखे ।

कार्यक्रमका बिशेष अतिथि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य
सुधिरकुमार शिवाकोटीले नरेन्द्रबिक्रम नेम्बाङको घरमा बसेर आफूले नै सो सहमति लेखेको स्मरण गर्दै राजनीतिमा जालझेल नचल्ने बताए । देउमानको बिधिवत उम्मेद्वारी पवित्र माङहिमबाट भगवानलाई साक्षी राखेर शुरूवात भएको बताउँदै उनले एमाले र केपी ओलीको बिरोधमा खरोरुपमा उभिने दह्रो उम्मेद्वार देउमान नै भएको दाबी गरे ।

कार्यक्रमका अतिथि नेपाली काँग्रेस झापाका सभापति उद्घब थापाले १३ औ महाधिवेशनमा भएको सहमति अनुसार देउमानलाई आफ्नो पुरा समर्थन रहेको बताए । उनले पार्टीमा गुटरहित राजनीतिको आवाज उठाउने विश्वप्रकाशले कट्टेललाई बोकेर हिड्न नसुहाएको टिप्पणी गरे । उनले त्यस्तो भ्रमित कुरा नगर्न शर्मालाई चेतावनी दिए । केही दिनअघि विश्वप्रकाशले गरामनीमा १३ औं महाधिवेशनमा देउमानलाई सभापति बनाउने सहमति नभएको बताएका थिए ।
अधिवेशनमा सहभागी भैरहँदा प्रतिस्पर्धीलाई मित्रवत ब्यवहार गर्न र जो जितेर आएपनि काँग्रेस नै आउने भएको हुँदा पार्टीको आन्तरिक छनौट प्रक्रियालाई बिपक्षी पार्टीसँगको भिडन्तको रुपमा नलिन पनि सभापति थापाले आग्रह गरे ।
एमालेको दादागिरीलाई ठेगान लगाउन सक्ने उम्मेद्वारले मात्र झापा काँग्रेसको संगठन बचाउन र कार्यकर्ताको सुरक्षा गर्नसक्ने थापाको भनाई थियो ।

१३ वटा पालिकाका काँग्रेस सभापतिहरु एवं ४ क्षेत्रीय र ९ प्रदेश क्षेत्रीय सभापतिहरुको समर्थन देउमानलाई रहेको थियो । त्यस्तै क्षेत्रीय प्रतिनिधि एवं केन्द्रीय र जिल्लाका नेताहरुको उपस्थितिमा देउमानले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
आफ्नै निर्वाचन क्षेत्रबाट कार्यकर्ता भेटघाट तथा उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देउमानले १३ औ महाधिवेशनमा नेताहरुको आग्रहमा सभापतिको दावीबाट आफू पछि हटेको बताए । १४ औ महाधिवेशनमा आफूलाई सभापति बनाउने त्यसबेलाको सहमतिमा नेताहरु समर्थन यथावत रहेको उनले बिश्वास ब्यक्त गरे । शिवसताक्षी नगर सभापति अशोक बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत पर्शुराम ढुंगाना र संचालन होम दुलालले गरेका थिए ।

१ प्रतिक्रिया

  1. सहमतिका लागी दवाव सिर्जना गर्नु र सहमति गरेकै भए पालना गराउन राखिएका बिचारहरु सम्मान योग्य छन् तर शारीरिक बिशेषणको प्रयोग भने लाजमर्दो र संविधानको खिलाफ हो। अरुलाई होच्याउदा आफ्नो उचाइ बढ्दैन तर घट्छ भन्ने कुरा कहिले बुझ्ने होला? हाम्रा नेताहरुले।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्