झापा , कात्तिक २५ । राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ ।

‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।
आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यता झापामा १ एकहजार ४ सय ५२ जना कर्मचारीले स्थलगत रूपमा काम गर्ने गरी सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
जिल्ला जनगणना समन्वय समिति झापाले पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार झापा जिल्लामा स्थलगत रूपमा २ सय ६५ जना सुपरिवेक्षक तथा एक हजार एक सय ८७ जना गणकमार्फत तथ्यगत विवरण संकलन गर्ने गरी जनगणनाको तयारी पूरा गरिएको हो ।
जिल्ला जनगणना कार्यालयको प्रारम्भिक विवरण अनुसार झापामा २ लाख ४७ हजार ५ सय घरपरिवार संख्या देखिएको छ । सोही परिवारको तथ्यलाई गणकहरूले स्थलगत रूपमा विवरण लिएर जनगणना गर्ने छन् ।
जिल्ला जनगणना समन्वय समितिका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार यस पटकको जनगणना अक्सर बसोवासका आधारमा हुने हुँदा जो जहाँ बसोवास गर्छन् त्यसको गणना त्यहीँ हुने प्रावधान छ । प्रजिअ तिमिल्सिनाले स्थलगत रूपमा गणनाका लागि आउने कर्मचारीलाई सहयोग गरिदिन सवै सरोकारवालासित आग्रह समेत गरेका छन् ।
कार्तिक २५ गतेदेखि मंसीर ९ गतेसम्म स्थलगत जनगणना हुने झापामा बिरिङ खोला पूर्व र पश्चिम क्षेत्र हेर्ने गरी दुई वटा जनगणना कार्यालय राखिएको छ । पूर्वको गणना कार्यालय भद्रपुर र पश्चिमको गणना कार्यालय दमकमा रहेका छन् ।
जनगणना कार्यालय भद्रपुरका प्रमुख चुडामणि लुँइटेलका अनुसार जनगणनाको १२ औं शृंखलाअन्तर्गत ५५ वटा प्रश्नावलीका आधारमा विवरण संकलन गरिने छ । जसमा ३७ वटा विवरण व्यक्तिगत विवरणका लागि तयार भएका प्रश्नावली हुने छन् । यी प्रश्नावलीले कृषि, रोजगार, आर्थिक अवस्था, स्थायी बसोवास, अस्थायी बसोवासलगायत राज्यका आय, व्यय तथा नीतिगत योजनाका लागि तथ्यगत विवरण निर्माण हुने छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्