झापा , कात्तिक २५ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ।

आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो। उदाउँदो सूर्यलाई अर्घ्य दिन भक्तजन नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।
छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । उदाउँदो सूर्यको पूजा आराधना गर्न झापाको मेची , बिरिङ, रतुवा , कनकाई , अधुवा, निन्दा , देउनियालगायतका नदी किनारमा ब्रतालुहरुको घुइँचो लागेको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । अघिल्लो वर्ष घरमै छठ मनाउन बाध्य भएका ब्रतालुले यस वर्ष जलाशय, नदी खोला किनारमै पुगेर उल्लासपूर्ण रुपमा छठ मनाएका छन् । पोहोर कोरोनाको कारण घरमै छठ मनाइएको थियो । पहिले तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्