झापा,कात्तिक २५ । आजदेखि सुरु भएको १२ औं राष्ट्रिय जनगणनामा आफ्नै मौलिक धर्म लेखाउन आदिवासी जनजाति महासंघले अपील गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले ८ बुँदे ध्यानाकर्षण गराएको छ । ध्यानाकर्षण पत्रमा आ–आफ्नो जाति र जनजातिको नाम, मातृभाषा, पुख्र्यौली भाषा, धर्म प्रष्ट रूपमा लेख्न लगाउन आग्रह गरेको छ । अन्य पक्षले जबर्जस्ती थोपरेको धर्म नलेखाउन भन्दै महासंघले जाति, भाषा, धर्मबारे आफू सङ्लग्न र सम्बन्धित आदिवासी जनजाति समुदायको प्रतिनिधिमूलक संघ–संस्थाले गरेको निर्णयअनुरुप लेखाउन, जाति, धर्म, मातृ भाषाजस्ता महल दुरुस्त भरे नभरेको हेर्न पनि आग्रह गरेको छ । यस्तै परिवारका सख्या अक्सर घरैमा बसोबास गर्नेको संख्या लेखाउन, परिवारमा अक्सर नबस्ने स्वदेशमा वा विदेशमा बसोबास गर्नेको सख्या खुलाउन भनिएको छ । ३० पूरा भएको उमेर, वैवाहिक स्थिति १० वर्षभन्दा माथिकाले मात्र, पढ्न–लेख्न जानेको र नजानेको, यदि जानेको भए कतिसम्म पास गरेको र कलेज, विश्वविद्यालय स्तर उत्तीर्ण गरेको भए कुन विषयमा कति भन्ने प्रष्टसँग लेखाउन आग्रह गरिएको छ । यस्तै प्रश्नावली भरिरहँदा गणकले विभिन्न कोड भर्दा सही कोड भरेको–नभरेको बारे एकिन गर्न, गणकले पेन्सिल वा मेट्न मिल्ने सामग्रीले लेखेको छ भने डटपेन प्रयोग गर्न लगाउन पनि भनेको छ । नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषद् सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हाम्रा जनसांख्यिक विशेषता जे हो, जनगणनामा त्यही देखिनुपर्छ ।दशकौँदेखि आदिवासी जनजातिहरूले त्यही भन्दै आएका छन् । तर पनि विगतका जनगणनाको परिणाम हाम्रा लागि कतिपय अवस्थामा तथ्याङ्क होइन, मिथ्याङ्क साबित भयो । अब मिथ्याङ्क मात्र भन्दै हात बाँधेर बस्नु हुँदैन, बरू सही तथ्याङ्क बनाउन सक्रिय हुनु आवश्यक छ । यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकाले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलता अनुसारको जनगणना बनाऔँ । यसको लागि अबको पन्ध्र दिन जागरूक रहौँ ।’विज्ञप्तिमा वास्तविक तथ्याङ्क सङ्कलनका लागि आ–आफ्नो ठाउँबाट खबरदारी गर्दै उपयोग गर्न र तथ्याङ्कको राजनीति बुझ्न, हस्तक्षेप बढाउन र प्रतिरोध सिर्जनाका लागि आधार बनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्