झापा , कात्तिक २५ । किराँत धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औ जन्मजयन्ती किरात धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् ।

विशेष गरी किरात समुदायको बसोबास रहेको पूर्वका जिल्लाहरुमा महागुरु फाल्गुनन्द जन्मजयन्ती मनाइने गरिएको छ । किरात धर्मका अनुयायीहरुको बाक्लो उपस्थिति रहेको झापाको खुदुनाबारीमा विभिन्न कार्यक्रमको आयोजना गर्दै महागुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइयो ।
अर्जुनधारा–१ स्थित साधुटारको माङहिममा पूजापाठसँगै विभिन्न रचनात्मक कार्यक्रमहरु गरियो । त्यस्तै साँझ खुदुनाबारी चोकमा रहेको महागुरु फाल्गुनन्दको शालिकमा दीप प्रज्वलन गरिएको छ । त्यस्तै मेचीनगर ९ स्थित किरातेश्वर माङहिमले फाल्गुनन्द जयन्तीको अवसरमा सांस्कृतिक पूजालगायतका विविध कार्यक्रम सम्पन्न गरेको छ । माङहिम परिसरमा विहीवार आयोजित कार्यक्रममा २० जना धार्मिक गुरुहरुलाई महान धर्मगुरुको जन्मजयन्ती लेखिएको टिसर्ट प्रदान गरिनुका साथै नवनिर्मित शौचालय उद्घाटन गरिएको थियोे ।
वडा नं १० का वडध्यक्ष सुदेशकुमार पनेरुले नगरपालिकाबाट विनियोजित २ लाख ५० हजार रुपैयाँको लागतमा निर्मित शौचालयको उद्घाटन गरेका हुन् ।
माङहिम अध्यक्ष कविन्द्रबिक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पनेरु ,प्रेम सम्वाहाम्फे,ओमप्रकाश खापुङ, ईन्द्र प्रधानलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन डिल्लीराम लिम्बुले गरेका थिए ।

यस्तै इलामको चुलाचुली, माई नगरपालिका , लारुम्बालगायतका स्थानमा फाल्गुनन्द जयन्तीका अवसरमा कार्यक्रम सम्पन्न गरियो ।
यसैक्रममा इलामको सदरमुकाममा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल प्रवेश मार्गमा निर्मित फाल्गुनन्दको शालिकको एमाले नेता सुवास नेम्बाङले बिहीवार अनावरण गरेका छन् ।
त्यस अवसरमा नेम्बाङले महागुरु फाल्गुनन्दको योगदानको कदर गरी निर्विरोध रुपमा विमानस्थलको नाम फाल्गुनन्द सुकिलुम्बा राखिएको बताए । १३ लाख ३७ हजार रुपैयाँको लागतमा इलाम नगरपालिकाले फाल्गुनन्द मार्ग प्रवेशद्वारसहित शालिक निर्माण गरेको हो ।
राष्ट्रिय विभूति फाल्गुनन्दले विक्रम संवत १९८८ बैशाख २४ देखि पाँचथरको लाब्रेकुटीमा सत्य धर्म मुचुल्का पारित गराएका थिए ।
उनले परम्परागत रुपमा चलिआएको प्रथा त्याग्दै छोरी चेलीको रीत नखाने, बली पूजा रोक्ने, हिंसा त्याग्नेजस्ता बँुदा त्यस मुचुल्कामा समावेश गराएका थिए । उनको यो मार्गदर्शनलाई किरात समुदायले पछ्याउँदै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्