दमक, कात्तिक २७ । खेतीका लागि किसानलाई आलुको बीउ किन्नै मुश्किल भएको छ ।

यो पटक कोल्डस्टोरमा राखिएको तथा किसान आफैँले राखेको आलु बिग्रिएपछि किसानलाई बीउको चिन्ता परेको हो ।
भारतबाट आयातित आलुको बीउमा एकरूपता नभएको र एकैदिन आलुको बीउको मूल्य फरकफरक भएपछि किसानहरू ठगिन पनि थालेका छन् । दमक–१० का किसान नगेन्द्रमणि न्यौपानेका अनुसार दमकमा सबैभन्दा बढी आलु बिक्री हुने दमकको सब्जी बजारमा केहि समय अघिसम्म पाँच केजीको २५० रुपैयाँ पर्ने बीउ अहिले ३०० रुपैयाँ पर्न थालेको छ ।
भारतबाट आएको आलुको बीउ सस्तो पाइने भएपछि त्यही बीउ ल्याएर व्यापारीले महँगो मूल्यमा बिक्री गर्ने गरेका छन् । सब्जी बजारका एक आलु व्यवसायीका अनुसार दैनिक कम्तीमा पनि आठदेखि १० ट्रक आलुको बीउ यहाँ आउने गरेको छ । यहाँबाट दमक र आसपास मात्र नभएर देशका अन्य भागमा पनि आलुको बीउ पुग्ने उनको भनाइ छ ।
किसानलाई अहिले पनि आलुको कस्तो बीउ आवश्यक हुन्छ भन्ने थाहा नभएको र बजारमा जेजस्तो पाइन्छ, त्यस्तै रोप्ने गरेको न्यौपाने बताउँछन् । कृषि प्राविधिक प्रेम पोखरेलका अनुसार स्वस्थ, चोट नलागेको, नकुहिएको तथा छोटो, मोटो र जातअनुसारको रंगिन टुसा भएको आलुको बीउ उपयुक्त हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्