बिर्तामोड , कात्तिक २९ । झापाको बिर्तामोड १० र बाह्रदशी ५ जोड्ने अधुवा खोलामा पुल बन्ने कुरा इतिहासजस्तै भएको छ । त्यहाँ पुल बनाइदिने भनेर धेरै नेताले राजनीति गरे तर, चुनावमा जितेर गइसकेपछि फेरि फर्केर आएनन् । स्थानीयहरु समस्यामा परिरहेको वर्षौ भइसक्दासमेत नेताहरुले वास्ता नगरेपछि उनीहरु राजनीतिक दल र तिनका नेताप्रति दिक्क छन् । अब त उनीहरुले नेताहरुलाई मनपरी भन्न थालिसकेका छन् ।

त्यही बाटो हुँदै मुश्किलले आवतजावत गर्ने गरेका बाह्रदशी ५ का दिपेन याक्थुम्बाले सामाजिक संजालमा आफ्नो तीब्र आक्रोश पोखेका छन् । उनले लेखेका छन् , ‘बर्खामा आवतजावत नै बन्द हुँदा नि जनप्रतिनिधिहरु ट्वाँ परेर हेर्छन् यो खोला बिर्तामोड र बाह्रदशीको सिमाना जोड्ने अधुवा खोला हो तर, सदियौदेखि यो खोलामा पुल बनाउँछौ भन्दै जनतालाई भोट माग्ने भाँडो बनायो तर, जितेर जानेले माखो मारेन समस्या ज्यूँको त्यूँ छ । नेपालमा मिलीमिली राज्य दोहन गर्न पल्केकाहरुले संघीयताको दुरुपयोग गरेर तलदेखि माथिसम्म तलब भता खाने काम भयो । कुन पालिका वार्डमा के छ कहिले ध्यान नदिने अनि काँग्रेसले मेरो सरकार हुँदा बनाउँछु भन्दै भोट माग्ने, एमालेले मेरो सरकार हुँदा बनाउँछु भन्ने होइन । जनतालाई कति छलेका हुन् यी पापीहरुले जनता चुस्ने देश लुट्नुबाहेक केही जानेनन् हौ । अब पनि यस्तो कुरो गरेर भोट माग्न आउँछौ भने जनताले लखेट्ने छन् । अब विकल्प रोजौ है सबैले भ्रष्टहरुको पछि नलागौ । ओहोरदोहोरमा समस्या छ कुनै जनप्रतिनिधिले बुझेन के गर्ने होला अब ?
कटहरडाँगीस्थित अधुवा खोलामा पुल नबन्दा स्थानीयलाई आवतजावतमा समस्या परेको हो । आउन जानको लागि खोलामा सानो अस्थाइ सागा पनि नहुँदा हिउँदमा भन्दा बर्खामा बढी समस्या हुने गरेको याक्थुम्बाले बताए । बाह्रदशीलाई बिर्तामोडसँग जोड्न त्यहाँ पुलको अति नै आबश्यकता छ । अति नै आबश्यक भएपनि त्यहाँ पुल निर्माण हुन नसकेको बाह्रदशी ५ का वडाध्यक्ष भुपेन्द्र कट्वालले स्वीकारे । स्थानीयले पहल गरेपछि पुलको लागि प्रदेश सरकारबाट माटो परीक्षण गरिएको थियो । तर , माटो परीक्षणबाहेक केही पनि काम हुन सकेन ।‘हामीले पुलको लागि प्रदेश सरकारलाई गुहा¥यौं ’वडाध्यक्ष कट्वालले भने ,‘ माटो परीक्षण भयो र त्यसपछि अरु काम भएन । समस्या यथावत छ । ’ आफूहरुले माटो परीक्षणपछि पनि पटकपटक पहल गरेपनि सुनुवाई नभएको उनले बताए । त्यस विषयमा प्रदेशसभाका तत्कालीन मन्त्री हिक्मत कार्कीको पनि ध्यानाकर्षण गराएको उनले जानकारी दिए । ‘खोई यस्तै हो भने त्यहाँ पुल बन्ने टुंगो छैन ’उनले भने ,‘ चुनाव अघिसम्म संभावना देख्दिनँ ।’
त्यस ठाउँमा वर्षौदेखि पुल नबनेर स्थानीयलाई परिरहेको समस्याप्रति आफू विज्ञ रहेको बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । ‘बजेट आइसक्यो , ठेक्का लागिसक्यो जस्ता हल्ला बारम्बार सुनिन्छ’ उनले भने ,‘ तर खासमा बजेट आएकै छैन ।’ अहिलेका ३ नं क्षेत्रका संघीय सांसद राजेन्द्र लिङ्देनले पहल गर्नुपर्नेमा उनले वास्ता नगरेको गुरुङको भनाई छ । त्यसअघिका सांसदहरु कृष्णप्रसाद सिटौला , केशवकुमार बुढाथोकीले पनि सो पुलको लागि पहल नगरेको स्थानीयको गुनासो छ । दुईतिर बाटो खोलामा पुल नहुँदा स्थानीयले घुमेर जानुपर्ने बाध्यता रहेको छ । पुल नहुँदा आवतजावतसँगै बालबालिकाहरुलाई विद्यालय जान समस्या परिरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्