गौरादह, कात्तिक २९ । गौरादहमा धारिलो हतियारले हत्या गरी शौचालयको सेफ्टी ट्याकीभित्र शव लुकाउने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौरादह ५ बस्ने ४६ वर्षिय मबेसिर हुसेन मियाँलाई घातक हतियारले हत्या गरी सेफ्टी ट्यांकीभित्र फालेको र सो सेफ्टी ट्यांकीमा गोबरले लिपपोत गरी गोबरको गुईठा बनाई ट्यांकीमाथि चाङ लगाई अभियुक्तहरुले ढकनीले छोपेका थिए । यस्तो कर्तुत गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरादह ५ बस्ने ३१ वर्षिय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षिया सुमेरन खातुन सोही ठाउँका २६ वर्षिय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षिया रुक्सार खातुन र ३८ वर्षिया कुर्समान खातुन रहेका छन् । मबेसिर हुसेन मियाँ कात्तिक ११ गते विहान ११ बजेदेखि हराएका थिए । उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते ईलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन् ।

खोजीमा रहेको प्रहरी टोलीले कात्तिक २६ गते दिउँसो २.३० बजे गौरादह ५ स्थित महमद सद्दामको घर खानतलासी लिने क्रममा घरको दक्षिणतर्फको कोठाभित्र गेरु रंगले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरुमा रगतजस्तो रातो पदार्थको छिटाहरु फेला पारेको थियो । त्यस कोठादेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेफ्टी ट्यांकीमाथिको गोबरको गुईठाको चाङ हटाई सेफ्टी ट्यांकीभित्र खोजी गर्दा मबेसिर हुसेन मियाँको शव फेला परेको थियो । उनलाई घातक हतियारले हत्या गरी कम्बलमा पोको पारी सेफ्टी ट्यांकीभित्र फालिएको थियो । दुर्गन्धित अवस्थामा फेला परेको शवलाई लाशजाँच मुचुल्का समेतको अनुसन्धान गरी पोष्टमार्टमको लागि बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए । उनले उक्त घटनामा प्रयोग भएका घरेलु घातक धारिलो हतियार दाउ, छुरी र मार्तोललगायत प्रमाणयोग्य चिजवस्तुहरु बरामद गरिएको जनाएका छन् । व्यक्तिगत रिसिबीले सो हत्या गरेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्