झापा , मंसीर १ । देवी माविकी एकजना शिक्षिकाको निधन भएपछि शोक विदा दिने विषयमा बिर्तामोड नगरपालिका र नेपाल शिक्षक महासंघबीच जुहारी चलेको छ ।

महासंघले ध्यानाकर्षण पत्र बुझाउँदै

देवी मावि बिर्तामोड –५ मा कार्यरत शिक्षिका सन्जु पाण्डे डाँगीको कोरोना संक्रमणका कारण ४२ वर्षको उमेरमा भारतको सिलिगुडीस्थित किन्स हस्पिटलमा शनिवार निधन भएको थियो । उनको निधनलाई लिएर शिक्षक महासंघले आइतवार नगरभित्रका सबै सामुदायिक विद्यालयमा शोक विदा दिने निर्णयसहितको सूचना जारी गरेको थियो । विदा दिने शिक्षक महासंघको सूचनाप्रति आपत्ति जनाउँदै बिर्तामोड नगरपालिकाले शनिवार राति नै अर्को सूचना जारी गर्यो । शिक्षा शाखा बिर्तामोडको नामबाट जारी त्यस सूचनामा भनिएको थियो ,‘ बिर्तामोड नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुको पठनपाठन बन्द गरी शोक विदा गर्ने भन्ने भमपूर्ण सूचना प्रकाशित भएकाले सो सम्बन्धमा बिर्तामोड नगरपालिकाले कुनै निर्णय नगरेको हुनाले प्रकाशित सूचनाप्रति खेद व्यक्त गर्दै देवी माविले एकदिन शोक दिवस मनाई विदा गर्ने र अन्य विद्यालयहरुले शोक सभा गरी नियमित पठनपाठन गर्न गराउन अनुरोध छ ।’

नगरपालिकाको सूचना

यसरी नगरपालिकाले शिक्षक महासंघको सूचनालाई भ्रम भन्दै विद्यालय बन्द नगर्न आदेश दिएर आइतवार विद्यालय संचालन गर्न लगाएको थियो । त्यसप्रति आपत्ति जनाउँदै महासंघले नगरपालिकालाई आइतवार नै ध्यानाकर्षण पत्र बुझाएको छ ।

महासघको ध्यानाकर्षण पत्र


आफूहरुले नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीसंग सल्लाह गरेर आइतवार नगरभरिका विद्यालयमा शोक विदा दिने निर्णय गरेर सूचना जारी गरेको महासंघका अध्यक्ष युवराज कट्टेलले बताए । उनले नगरपालिकाभित्रका विद्यालयमा कार्यरत कुनै पनि शिक्षकको निधन भएमा सबै विद्यालय बन्द गर्ने परम्परा रहेको बताउँदै नगरपालिकाले भनेजस्तो विद्यालयमा शोक सभा गरेर पठनपाठन संचालन गर्ने नियम नरहेको जिकिर गरे । उता शिक्षा शाखाका प्रमुख भण्डारीले शिक्षक महासंघले आफूलाई सोधेको कुरा स्वीकार गर्दै आफूले त्यस विषयमा प्रमुख प्रशासकीय अधिकृत र मेयरलाई सोध्न भनेको जानकारी दिए ।उनका अनुसार कार्यपालिकालाई मात्र विद्यालयमा विदा दिनका लागि निर्णय गर्ने अधिकार छ । दुवै पक्षबीच चलेको जुहारीका विषयमा केही दिनपछि छलफल हुने शाखा प्रमुख भण्डारीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्