खुदुनाबारी ,मंसीर १ । नेपाली कांग्रेस झापाको आसन्न चौधौं महाधिवेशन नजिकिदै गर्दा आकांक्षी उम्मेद्वारहरुले घरदैलो एवं भेटघाटलाई तीब्र बनाएका छन् ।

यसक्रममा झापाको खुदुनाबारीमा जिल्ला सभापतिका उम्मेद्वार देउमान थेबेले कार्यकर्ता भेटघाट गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले नेतृत्व परिवर्तनका लागि भनेर चुनावमा दौडिएका अर्को खेमाका केही उम्मेद्वारप्रति लक्षित गर्दै उद्वब थापाले छोडेर देउमान थेबे सभापतिमा आउँदा परिवर्तन भएन र ? भनी प्रश्न गरे । ‘नेतृत्व परिवर्तन चाहेको हो भने हामीले पनि त्यहि चाहेका छौ र थेबेलाई जिल्ला सभापतिको उम्मेद्वार बनाएका हौ’–नेता शिवाकोटीले भने–‘कि परिवर्तन भनेको काग्रेसको, बीपीको राष्ट्रियता, लोकतन्त्र, समाजवादको सिद्धान्तलाई नै त परिवर्तन गर्ने होइन होला ?’
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले शीर्ष नेताहरुले देउमानसँग सहमति गराएपछि आफू निर्विरोध निर्वाचित भएको कुराको साक्षी केन्द्रीय नेताहरु र आमकार्यकर्ताहरु जीवित रहेको बताए ।
पार्टीको आन्तरिक चुनावमा कोही कसैको प्रतिद्वन्द्वी नहुने बताउँदै उनले भने–‘प्रतिद्वन्द्वी त एमालेसंग आगामी तीनै तहका चुनावमा हुन्छ र त्यसका लागि एकताका साथ तयारी अवस्थामा रहनुपर्छ । आन्तरिक निर्वाचनमा कसैको हार वा जीत हुँदैन ।’
जिल्ला सभापतिका प्रत्यासी उम्मेद्वार थेबेले आफूलाई रहर लागेर मात्र उम्मेद्वार बनेको नभई १३ औ महाधिवेशनमा शीर्ष नेताहरुबीच भएको भद्र सहमति अनुसार चुनावी मैदानमा दह्रो उभिएको बताए । जिल्लाको नेतृत्व लिईरहँदा पार्टीको शीर उँचो राख्ने र मतदाताले पछुतो गर्नुपर्ने अवस्था आउन नदिने थेबेले उद्घोष गरे । ध्रुव खातीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जीवन भण्डारी र कृष्ण थापाले सञ्चालन गरेका थिए ।
कार्यकर्ता भेटघाटमा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, अर्जुनधारा नगरपालिका १,२,३ र ४ का अत्याधिक क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको देउमान थेबे जिताउ अभियान सचिवालयका संयोजक कृष्ण हुमागाईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्