झापा , मंसीर १ । झापामा दशौं राष्ट्रिय कर दिवस मनाइएको छ । त्योसँगै कर सप्ताहको शुभारम्भ गरिएको छ ।

आन्तरिक राजश्व कार्यालय भद्रपुरको आयोजना तथा बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा बुधबार बिर्तामोडमा विशेष समारोह सम्पन्न गरियो ।
बिर्तामोडको मुक्तिचोक परिसरमा आयोजित दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए ।
सो अवसरमा साविक मेची अञ्चलको चार जिल्लाका एक–एक सर्वाधिक करदातालाई सम्मान गरिएको थियो । झापाबाट सर्वाधिक करदाताका रुपमा भद्रपुरको साहेवाला ट्रेडिङ प्रा. लि., इलामबाट फिक्कल उत्तम स्टोर, पाँचथरबाट जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स र ताप्लेजुङबाट सलिना सप्लायर्स सम्मानित भएका हुन् ।
ती प्रतिष्ठानका सञ्चालकहरुलाई प्रमुख अतिथि ढकालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । साहेवाला ट्रेडिङका तर्फबाट सञ्चालक अजय साहेवाला, फिक्कल उत्तम स्टोरका तर्फबाट सञ्चालक उत्तम श्रेष्ठ, जय अम्बेका तर्फबाट राजन काफ्ले र सलिना सप्लायर्सका तर्फबाट तिलमाया भट्टराईले सम्मान ग्रहण गरेका थिए । आन्तरिक राजश्व कायार्यलय भद्रपुरको सेवाक्षेत्र साविक मेची अञ्चलका चार जिल्ला रहेका छन् ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरका प्रमुख शुभप्रसाद रिजालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालको राजश्व आयातमा निर्भर रहेकोले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई बढाउन र आन्तरिक करको दायरा बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले राज्य र निजी क्षेत्रबीच सुमधुर सम्बन्धले मात्र देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउँदै राज्यले करको दर र क्षेत्र बढाउनेभन्दा पनि प्रविधिको भरपूर उपयोग गर्दै करको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
सञ्चारकर्मी स्वस्तिका आचार्यले सञ्चालन र बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले स्वागत गरेको समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष टिकाराज ढकाल, केन्द्रीय सदस्य हेमराज ढकाल, १ नं प्रदेश सदस्य कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए भने क्षितिज नाट्य समूहसम्बद्ध क्षितिज संगीत साधना प्रतिष्ठानका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेका थिए ।समारोहमा चारै जिल्लाका उद्योग–व्यवसायसम्बद्ध संघ–संस्थाका पदाधिकारीलगायत उद्योगी–व्यवसायीको उल्लेख्य सहभागिता थियो ।
समारोहअघि उद्योगी–व्यवसायीहरुको संलग्नतामा बिर्तामोडमा प्रभातफेरी निकालिएको समारोहका सहआयोजक विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए ।
त्यस्तै आन्तरिक राजश्व कार्यालय दमकले बुधवार दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताहअन्तर्गत प्रभातफेरी सम्पन्न गरेको छ ।
मंसिर १ देखि ७ गतेसम्म चल्ने कर सप्ताहको अवसरमा आन्तरिक राजश्व कार्यालय दमकले बिहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । दमक ५ स्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट शुरु भएको प्रभातफेरी दमक गणतन्त्र चोक ,फर्निचर लाइन, शंखधर शाख्वा चोक,सुर्तीलाइन हुँदै नमुना बजारमा पुगेर सभामा परिणत भएको थियो ।
राजश्व कार्यालय दमकका निमित्त कार्यालय प्रमुख कर अधिकृत तिलक आलेको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले सरकारलाई कर तिर्नु संस्था कर्मचारी ,नेता, नागरिक,ब्यापारी,ब्यवसायी सबैको कर्तब्य र जिम्मेवारी भएको जोड दिएका थिए ।दमक उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजु खड्काले प्रविधिमैत्री कर प्रणालीलाई सबैले प्रयोगमा ल्याउनु पर्ने बताए ।
कार्यक्रममा शिवसताक्षी उधोग वाणिज्य संघका अध्यक्ष भोलानाथ मैनाली , कमल उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी ,पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी नवराज कार्कीलगायतले बोलेका थिए । कर सप्ताहअन्तर्गत सप्ताहब्यापी करदाता शिक्षा तथा अन्तरक्रिया गरिने आन्तरिक राजश्व कार्यालय दमकका कर्मचारी प्रदिप बरालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्