झापा ,मंसीर २ । देउमान थेबे जिताउ अभियानमा सक्रिय भएर लागेका नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले जिल्ला सभापतिका उम्मेद्वार थेबेले ६० प्रतिशतभन्दा बढी मतले विजय हासिल गर्ने दावी गरेका छन् ।

१४ औं महाधिवेशनमा देउमानलाई जिल्ला सभापति बनाउने १३ औं महाधिवेशनमा भएको सहमतिका चारजना साक्षीमध्ये एक जना शिवाकोटी हुन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा प्रतिदिनसँग कुरा गर्दै उनले सबैको सहयोग र समर्थनबाट जिल्ला सभापतिका उम्मेद्वार देउमानको जित सुनिश्चित भएको दावी गरे । उनले जिल्लाका १५ वटै पालिकाका सभापतिहरुले देउमानलाई सघाइरहेको बताउँदै अर्का प्रत्यासी उम्मेद्वार राम कट्टेलका समर्थक भनिएका मेचीनगरका सुदय पनेरु र बुद्धशान्तिका चक्र शेर्माले समेत समर्थन जनाएको जानकारी दिए ।‘बुद्धशान्तिका चक्रजी पनि हामीसँगै चुनावी घरदैलो कार्यक्रममा हिडिरहनु भएको छ’उनले भने , ‘ ३ हजार ३३२ मतदातामध्ये ६५ र ३५ प्रतिशतको अनुपातमा मतपरिणाम आउन सक्छ ।’
काँग्रेसका पूर्व जिल्ला सभापतिसमेत रहेका शिवाकोटीले १३ औं महाधिवेशनको सहमति उल्लंघन गरेर विश्वप्रकाश शर्माले राजनीतिक बेइमानी गरेको टिप्पणी गरे ।‘ मैले आफैले त्यो सहमति लेखेको हुँ ९ बुँदे सहमतिको पहिलो बुँदाको आशय नै त्यहीँ हो ’उनले भने ,‘ देउमान र उद्धव थापालाई हात मिलाउन लगाएर फोटो खिच्ने विश्वप्रकाशले अहिले आएर राजनीतिक धर्म छोडनु राम्रो होइन । ’ सहमतिमा विश्वप्रकाशले सिफारिस गरेका प्रेम सम्बाहाम्फेलाई सचिव बनाउने कुरा उल्लेख नभएपनि त्यही आशयको सहमति आफूहरुले इमान्दारितापूर्वक कार्यान्वयन गरेको उनको भनाई छ । ‘ सहमतिको पहिलो बुँदाको स्पष्ट आशय नै देउमानलाई सभापति बनाउने हो ’उनले भने , ‘देउमानलाई भातृ संगठनको प्रमुख बनाउने आशयमा त्यो बुँदा लेखिएको होइन ।’
अब दुवै पक्ष निर्वाचनमा होमिसकेकाले सर्वसम्मतको संभावना सकिएको भन्दै उनले हारजित स्वीकार्नुको विकल्प नभएको बताए ।

१३ औं महाधिवेशनमा गरेको सहमति अनुसार देउमानलाई जिल्ला सभापतिमा जिताउन केन्द्रीय सदस्य शिवाकोटीसहित , पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी , अर्का केन्द्रीय सदस्य गोपालकुमार बस्नेत, वर्तमान जिल्ला सभापति उद्धव थापाजस्ता अग्रज नेताहरुको साथ रहेको छ । कट्टेललाई प्रवक्ता विश्वप्रकाशले साथ दिइरहेका छन् । अहिलेका उम्मेद्वारहरु देउमान र कट्टेल दुवै उद्धव थापा कार्यकालका उपसभापतिहरु हुन् । थापाको पहिलो कार्यकालमा देउमान र अहिलेको कार्यकालमा कट्टेल उपसभापति हुन् । आफूहरुको पहिलो प्राथमिकता देउमान नै भएको केन्द्रीय सदस्य शिवाकोटीले बताए । ‘पहिलो कुरा देउमान सहमतिको सभापति भएकाले हाम्रो प्रतिवद्धता पुरा गर्नु छ , अर्को कुरा विपक्षी एमालेसँग स्थानीय, प्रदेश र संघीय निर्वाचनमा लड्नु पर्छ ’उनले भने ,‘ त्यो बेला सशक्त सभापतिको आबश्यकता पर्ने भएकाले जुनसुकै बेला खट्ने , निर्वाचन हाँक्न सक्ने र अग्रज नेता कार्यकर्तालाई लिएर हिड्न सक्ने प्रखर क्षमता देउमानजीसँग देखेका छौं ।’ उद्धव थापापछि देउमान आउनु नै परिवर्तन भएको भन्दै उनले परिवर्तनको नाममा वीपीको सिद्धान्त परिवर्तन गर्न नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्