झापा, मंसीर ३ । बिर्तामोडमा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाअन्तर्गत पशुपंक्षी तथा मत्स्य विकास शाखाको आयोजनामा शुक्रवारदेखि कुकुर वन्ध्याकरण शिविर सुरु भएको हो । नगरपालिकाको कार्यालय परिसरमा सञ्चालित शिविरको नगरप्रमुख ध्रुवकुमार शिवाकोटी र उपप्रमुख पवित्रा महतारा प्रसाईले संयुक्तरुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले सामुदायिक कुकुरको संख्या नबढोस् भनेर नगरले विगत ४ वर्षदेखि वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको बताए । उनले अभियानकै रुपमा यस प्रकारको कार्यक्रमलाई अगाडि बढाइएको बताए । सामुदायिक कुुकुरलाई सबैले माया गर्नुपर्ने धारणा राख्दै नगरप्रमुख शिवाकोटीले यस पटक २ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको जानकारी दिए ।
यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले कुकुर वन्ध्याकरणले कुकुरको विकृति कम हुने बताईन् । विगतका वर्षहरुमा नगरमा कुकुरसंग सम्बन्धित मुद्वाहरु समेत आउने गरेको भन्दै अहिले यस प्रकारका समस्या हल हुँदै गएको बताईन् । उनले जनावरको अधिकार सुरक्षित गर्दै संख्या न्यूनीकरणको लागि गरिएको बन्ध्याकरण कार्यक्रम प्रभावकारी देखिएको बताईन् ।
कार्यक्रममा बोल्दै हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले बिर्तामोडमा पहिलाको तुलनामा अहिले कुकुरको अवस्थामा धेरै फरक आएको बताए । पहिले विभिन्न रोगले ग्रसित कुकुरहरुको संख्या धेरै हुने भएपनि बन्ध्याकरणका कारण यो समस्या क्रमशः कम हुँदै गएको बताए । बिर्तामोड नगरपालिकाले यस कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिएको भन्दै प्रशंसा समेत गरे । उनले कुकुरको संख्या नियन्त्रणका लागि बन्ध्याकरणबाहेक कुनै पनि विकल्प नरहेको पनि बताए । शिविरमा ल्याइएका सबै कुकुरहरुलाई बन्ध्याकरणसंगै रेविजको खोप लगाएर समुदायमा छोड्ने उनले जानकारी दिए । शिविर उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल,वडा नम्बर ७ की कार्यवाहक वडाध्यक्ष चन्द्रकला पकुवाललगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
हिमालयन एनिमल रेस्क्यु ट्रष्ट पोखराको प्राविधिक सहयोगमा सुरु गरिएको शिविरमा नगरका सबै वडामा पुगेर सामुदायिक कुकुरहरु समातेर ल्याउने र बन्ध्याकरण गर्ने कार्यलाई अघि बढाइएको पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्राविधिक विष्णुप्रसाद भट्टराईले जानकारी दिए ।
पशुपंक्षी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७८–७९को स्वीकृत कार्यक्रम अनुसार शिविर सञ्चालन गरिएको भन्दै शाखाकी प्रमुख सावित्राकुमारी दाहालले सामुदायिक कुकुर समात्न नगरका सबै वडामा आउने प्राविधिक टिमलाई आवश्यक सहयोग गर्न आग्रह गरिन् । शिविर मंसिर ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्