बिर्तामोड , मंसीर ४ । झापाको बिर्तामोडमा प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

आगामी फागुन २७ र २८ गते बिर्तामोडमा मिस्टर कंचनजंघा शारीरिक सुगठन प्रतियोगिता हुने भएको हो । बडी ग्यारेजले आज बिहान पत्रकार सम्मेलन गरी प्रतियोगिताका बारेमा जानकारी दिएको हो । अहिलेसम्मकै ठूलो राशि पुरस्कार भएको प्रतियोगिता गराउन लागेको आयोजक समितिका अध्यक्ष अर्जुन मैनालीले बताए । कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि खेलकुदका गतिविधि हुन नसकिरहेका बेला संक्रमण घटेपछि स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण ठानेर सो प्रतियोगिता गराउन लागेको उनले बताए । प्रतियोगितामा सहभागी हुनका लागि खेलाडीले ९० दिनको तयारी गर्नुपर्ने भएकाले अहिलेदेखि नै प्रतियोगिताको लागि प्रचारप्रसारसहितको तयारी थालिएको उनले जानकारी दिए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई च्याम्पियन अफ द च्याम्पियनको रुपमा पुरस्कृत गरिने भएको छ । जसले ३ लाख नगद पुरस्कार पाउने छ भने फस्ट रनर अपले २ लाख र सेकेन्ड रनर अपले १ लाख पाउने छ । त्यस्तै विभिन्न तौल समूहमा सहभागी उपविजेता खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा ५५, ६० , ६५ , ७० र ७० वर्षभन्दा माथिका गरी पाँचवटा तौल समूहका खेलाडी सहभागी हुनेछन् । त्यस्तै महिला खेलाडीहरुको पनि छुट्टै प्रतियोगिता हुने भएको छ । त्यस प्रतियोगितामा विजयी हुनेले क्रमशः १५ , १० र ५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ लाग्ने अध्यक्ष मैनालीले बताए ।‘८ लाख प्रायोजक , केही बिर्तामोड नगरपालिकाले सहयोग गर्नेछन् ’उनले भने ,‘ बाँकी शुभेच्छुकहरुबाट संकलन गर्नेछौं ।’ प्रतियोगितामा १ नं प्रदेशका सयभन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।
नयाँ प्रतिभाहरुलाई प्रोत्साहा दिने उद्धेश्यले आयोजना गरिने सो प्रतियोगितामा राष्ट्रिय च्याम्पियनहरुलाई भाग लिन नदिइने कार्यक्रम संयोजक राम दाहालले बताए । प्रदेशभरिमा चारजना राष्ट्रिय च्याम्पियन छन् । ती सबै बिर्तामोडकै हुन् । बिर्तामोडका राम दाहाल , उमेश राई , ललित धिमाल र तुला श्रेष्ठ राष्ट्रिय च्याम्पियन हुन् । पत्रकार सम्मेलनमा आयोजक समितिका उपाध्यक्ष धिरज अग्रवाल, दिपेन चौधरीले पनि जानकारी दिएका थिए । कार्यक्रमको संचालन आयोजक समितिका सचिव वरिष्ठ कराते प्रशिक्षक दुर्गाराज निरौलाले गरेका थिए । प्रतियोगिता सम्पन्न गराउन मैनालीको अध्यक्षतामा २९ सदस्यीय आयोजक समिति गठन गरिएको छ । त्यस्तै १७ सदस्यीय सल्लाहकार समिति पनि निर्माण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्