बिर्तामोड, मंसिर ५ । नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनअन्तर्गत आज क्षेत्रीय अधिवेशनका लागि मनोनयन दर्तालगायतका प्रक्रिया सम्पन्न भएको छ । प्रारम्भिक प्रक्रिया पुरा गरेपछि भोलि मतदान हुनेछ ।

झापाका पाँचवटै क्षेत्रमा शनिबार तोकिएको निर्वाचन केन्द्रमा पुगेका मतदान अधिकृतहरुले आज विहान ९ बजेदेखि उम्मेद्वारी मनोनयन दर्ता प्रक्रिया शुरु गरेका हुन् । दिउँसो १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । अपरान्ह ३ बजे अधिकांश क्षेत्रमा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भइसकेको छ ।
क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं–१ मा पासाङ ल्हामु स्मृति भवन धुलाबारी, क्षेत्र नं–२ को नेपाली कांग्रेस झापाको कार्यालय, क्षेत्र नं–३ का लागि नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालय, ४ का लागि सामुदायिक बनको सभाहल र ५ का लागि कृषि क्याम्पस गौरादहलाई मतदानस्थल तय गरिएको छ । मंसिर ६ गते विहान ८ बजेदेखि निर्वाचन प्रारम्भ हुने कार्यतालिका छ । निर्वाचन क्षेत्रीय समिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि यस निर्वाचनबाट चयन हुनेछन् । समावेशी कोटाको आधारमा न्यूनतम २४ देखि २६ जनासम्म केन्द्रीय महाधिवेशन प्रतिनिधि र न्यूनतम २१ देखि २३ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचनमार्फत चुनिनेछन् । अधिकांश क्षेत्रमा एकाध पदमा सर्वसम्मत चयन भएपनि अधिकांश पदमा निर्वाचन नै हुने देखिएको छ ।
झापाका वडादेखि प्रदेश क्षेत्रसम्मका अधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेका छन् भने क्षेत्रीय अधिवेशनमा पनि सौहार्दपूर्ण वातावरण देखिएको पाँचवटै क्षेत्रका मतदान अधिकृतहरुले जनाएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जिल्लामा प्रतिष्ठित नेताहरुको पनि उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्