झापा , मंसीर ७ । पत्रकार कृष्ण हुमागाँईले नेपाली कांग्रेस झापाको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।

नेपाल प्रेस युनियनका नेता हुमागाँईलाई अत्यधिक मतले सचिव पदमा जिताउन प्रेस युनियन झापाले अपिल गरेको छ । हुमागाँईं २०३६ सालमा बहुदल र निर्दलबीच भएको जनमत संग्रहमा इलाम क्याम्पसका ने.वि.संघका विद्यार्थी कृष्ण धराबासी र लेखनाथ भट्टराईसँगै नेपाली कांग्रेसका जिल्ला सदस्य गणेश तामाङको प्रभावबाट पञ्चायती ब्यवस्थाविरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका थिए । सानै उमेरदेखि जनमत संग्रहताका बहुदलको पक्षमा पञ्चायतविरोधी भित्ते लेखन गर्दै आएका हुमागाईं २०५१ सालबाट नेपाली कांग्रेसका क्रियाशील सदस्य बनेर कांग्रेसको राजनीतिमा संगठित रुपमा प्रवेश गरे । २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र प्राप्ति र प्रेस स्वतन्त्रताका लागि सक्रिय रहेका हुमागाँईले आफूमा भएको प्रजातान्त्रिक चेतलाई पत्रकारिताका माध्यमबाट सार्वजनिक गर्दै निरंकुश पञ्चायती शासनविरुद्धको ‘मिसन पत्रकारिता’ मा आफूलाई सक्रिय बनाए । पत्रकारिताका माध्यमबाट आम जनमानसमा प्रजातान्त्रिक चेत भर्न सक्रिय रहेका हुमागाईं काँग्रेस पार्टीले सञ्चालन गरेका सबै आन्दोलनहरुमा निरन्तर अग्रमोर्चामा रहेर सक्रिय रहँदै आएका छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियन झापाको सचिव, सभापति, केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि रहिसकेका उनले नेपाल पत्रकार महासंघको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । नेपाल पत्रकार महासंघ झापाको सभापति हुँदा २०६२–२०६३ को जनआन्दोलनलाई सफल पार्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । तत्कालीन राजाको निरंकुशताविरुद्ध जनतालाई शान्तिपूर्ण राजनीतिमा ल्याउनका लागि भएको दोस्रो लोकतान्त्रिक आन्दोलनमा राजनीतिक दलहरु सडकमा निस्कन नसकिरहेको बेला पत्रकार महासंघको अगुवाईमा केन्द्रदेखि जिल्ला तहमा आन्दोलन भएको थियो । सो क्रममा उनी काठमाडौंमा भएको प्रदर्शनहरुमा पटक–पटक पक्राउ परी हिरासतमा परेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको २०६१ माघ १९ गतेको निरंकुश शाही कदमपछि उक्त कदमका विरुद्ध फागुन ७ गते शनिश्चरेमा भएको प्रजातन्त्र दिवस मनाउने क्रममा तत्कालीन पार्टी सभापति सुधिरकुमार शिवाकोटीलाई उनकै घर बिर्तामोडबाट, सचिव उद्वव थापा र मजदुर नेता दीपक तामाङसँगै कप्तानबारीस्थित ज्ञानीराम बाँस्तोलाको चिया बगानबाट हुमागाईलाई तत्कालीन शाही नेपाली सेनाको युनिफाइड कमान्डले गोली फायर गर्दै पक्राउ गरेपनि इन्स्पेक्टर गोबिन्द अधिकारीको चलाखीले सेनाको कब्जाबाट छुटकारा पाएपछि हुमागाँई भारत निर्वासित हुनुपरेको थियो ।
भारत पानीटंकीको बतासीस्थित प्रजातन्त्र सेनानी मच्छिन्द्र केरुङको निवास र बागडोगरास्थित भारतीय गोर्खा सेनाको घरमा आश्रय लिएर कृष्ण हुमागाई र देउमान थेवेले नेपालमा शाही कू विरुद्ध भएको आन्दोलनका सूचनाहरु संकलन गर्ने र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार सम्प्रेषण गर्ने, नेपालको लोकतान्त्रिक आन्दोलनलाई अघि बढाउन तत्कालीन संगठन विभाग प्रमुख कृष्णप्रसाद सिटौलाको निर्देशनमा पर्चा, पम्प्लेट र प्रचार सामग्रीहरु तयार गरी झापाका विभिन्न नाकाहरुबाट नेपाल पठाउने कार्यमा सक्रिय भए । संगठन विभाग प्रमुख, गणतन्त्रवादी नेता कृष्ण सिटौलासँगै भारत सिलिगुडीमा निर्वासित जीवन विताउँदै उत्तरपूर्वी भारतमा नेपालको प्रजातान्त्रिक आन्दोलनको पक्षमा त्यहाँको प्रेस, मानवअधिकारकर्मी र नागरिक समाजका बीचमा समर्थन जुटाउने अभियानमा लागेका हुमागाँईलाई भारतीय प्रहरीले २०६१ साल चैतमा पक्राउ गरेर जलपाइगुडीस्थित भक्तिनगर थानामा केही दिन थुनामा राखेको थियो । यो कुरा थाहा पाएपछि नेता सिटौलाले भारतीय कांग्रेस आइका नेताहरुसँग समन्वय गरेर हुमागाँईलाई भारतीय थुनाबाट छुटाएका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेसको २०५६ सालमा केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेका हुमागाँई नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भए । हाल नेपाली कांग्रेस झापाको जिल्ला कार्य समिति सदस्य र प्रचार विभाग प्रमुखमा पार्टीको जिम्मेवारी संहालिरहेका हुमागाँई एक स्पष्ट वक्ता, हक्की र क्रान्तिकारी स्वभावका छन् । उनले स्थानीयदेखि राष्ट्रियस्तरका दर्जनबढी सञ्चारमाध्यमहरुमा कार्यानुभव सम्हालेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्